काठमाण्डौ । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि ४ लाख २० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ । 

यसका लागि लघुवित्तले निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । 

नियुक्ति सम्बन्धी सम्झौता साउन २७ गते आइतबार एनएमबी क्यापिटलको मुख्य कार्यालयमा सम्पन्न भएको हो । 

सम्झौतामा जनसेवी लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुखकार्यकारी अधिकृत कमलबहादुर खत्री तथा निष्काशन तथा बिक्रीप्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरे । 

सो कार्यक्रममा जनसेवी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विकास गौचन तथा अधिकृत कृष्णप्रसाद शर्मा र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख सञ्चालन अधिकृत कमलप्रसाद नेपाल तथा अधिकृत रोश्ना मानन्धरको समेत उपस्थिति थियो । 

२०७२ आश्विन १२ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी २०७२ कार्तिक २२गते पर्वत जिल्लाको कुस्माबाट कारोवार सञ्चालन गरेको जनसेवीको हाल अधिकृत पूँजी रु. ३० करोड र जारी पूँजी रु. १४ करोड रहेकोमा संस्थापकबाट ९ करोड ८० लाख चुक्ता भईसकेको छ भने सर्वसाधारणलाई रु. ४ करोड २० लाखको शेयर निष्काशनपश्चात चुक्तापूँजी रु. १४ करोड पुग्नेछ । 

हाल वित्तीय संस्थाको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ । 

हालसम्म २१ वटा शाखा कार्यालयमार्फत रु. १ अर्ब १५ करोड भन्दा बढी कर्जा लगानी गरिसकेको छ भने ४२ करोड कर्जा लगानीमा रहेको छ र सदस्यहरुबाट १२ करोडभन्दा बढी निक्षेप समेत संकलन गरेको छ । त्यसैगरी, यस वित्तीय संस्थाले हालसम्म ११,८०० जना सदस्यहरुलाई लघुकर्जाको सेवा प्रदान गरेको छ । चालु आर्थिक वर्षको पौष मसान्तभित्रमा नै शेयर जारी गरीसक्ने वित्तीय संस्थाले जनाएको छ ।