काठमाण्डौ । कागले कान लग्यो भनेर कसैले भनिदियो भने आफ्नो कान नछामी हौवाको पछि दगुर्ने प्रवृति नेपालका धेरै सेयर लगानीकर्तामा छ । कम्पनी वा फैलिएको हल्लाको बिषयमा आफैंले नबुुझ्ने र स्वघोषित विश्लेषकहरुको छद्मभेषी कुराको पछि दगुरेर कामै नलाग्ने संस्थाको सेयर खरिदारी बढाउने विचित्रको प्रवृति बजारमा देखिन्छ । विगत केही दिनदेखि लगानीकर्ताको रोजाईमा परी प्रति कित्ता सेयरको मूल्य समेत बढेको ग्रीन डेभलपमेन्ट बैंकको बित्तीय अवस्था धरापमा रहेको छ । धराप बैंकको सेयर खरीदमा लगानीकर्ता किन अपहत्ते गरिरहेका छन् भन्ने कुरा बुुझ्न झनै गाह्रो बनिदिएको छ । 

बाग्लुङ मुख्य कार्यालय रहेको यो बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ । जसमा यो बैंकको कन्तबिजोग अवस्था देखिएको छ । प्रति सेयर आम्दानी ३ रुपैयाँमा सीमित छ भने मूल्य आम्दानी अनुपात २०४.९० गुणा कायम भएको छ । अधिकांश बित्तीय सूचकमा धराप देखिएको यही बैंकको सेयर मूल्य भने बिहीबार ६.५५ प्रतिशतले वृद्धि भएको थियो । 

पछिल्लो एकमहिनाको अवधिको यो बैंकको सेयर खरिदारी हेर्ने हो भने लगानीकर्ताले निकै मरिहत्ते गरेको देखिन्छ । यहीकारण जुलाई २७ मा प्रतिकित्ता ६ सय १७ रुपैयाँ रहेको बैंकको सेयरको मूल्य बढेर अगस्ट १० सम्म आउँदा ६ सय ६७ पुगिसकेको छ ।

आखिर धराप अवस्थाको यो बैंकको सेयरमा के कारणले खरिदारी बढी मूल्य वृद्धिको खेल भइरहेको हो ? यसको पछाडि कुनै समूहको चलखेल र सोझा लगानीकर्तालाई फसाउने नियत प्रष्टिन्छ । अर्कोतर्फ, लगानीकर्ता पनि स्वघोषित विज्ञको पछि दगुरेर चुर्लुम्म डूूब्ने कम्पनीकै पछाडि आँखा चिम्लिएर दुःख गरी कमाएको पैसा बालुवामा पानी खन्याएजस्तो लगानी गरिरहेका देखिन्छ।

यस्तो छ बिजोग अवस्था
ग्रीन डेभलपमेन्ट बैंकले प्रकाशित गरेको बित्तीय विवरण अनुसार यसले आर्थिक वर्ष २०७३/७४ मा ३० लाख ५७ हजार खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ११ लाख ५९ हजार रुपैयाँ थियो । अघिल्लो वर्ष १ करोड १२ लाख रुपैयाँमा सीमित खूद ब्याज आम्दानी वृद्धि भई २ करोड पुुगे पनि संचालन घाटा, कर्मचारीको खर्चमा डरलाग्दो वृद्धिले बैंक धरापमा परेको देखिन्छ । यो बैंक १५ लाख ३९ हजार संचालन घाटामा छ । अघिल्लो वर्ष ८ लाख ५७ हजार संचालन नाफा कमाएको थियो । 

कर्मचारी खर्च अघिल्लो वर्ष ५१ लख २३ हजार रहेकोमा यो वर्ष बढेर ७३ लाख ७३ हजारको उचाईमा पुुगेको छ । अन्य संचालन खर्च समेत ५५ लाख २८ हजारबाट बढी १ करोड १० लाख माथि पुुगेको छ । 

अघिल्लो वर्ष ८३ लाख ३४ हजारले ऋणात्मक रहेको जगेडा कोष यो वर्ष ७० लाख ३५ हजार ऋणात्मक भएको छ ।

यो अवधिमा बैंकले ४७ करोड ८२ लाख निक्षेप संकलन गरी ३६ करोड १७ लाख कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यो बैंकले ३३ करोड ८४ लाख निक्षेप संकलन गरी ३० करोड ७७ लाख कर्जा परिचालन गरेको छ । 

अघिल्लो वर्ष ०.८८ प्रतिशत रहेको निस्क्रिय कर्जा अनुपात बढेर १.५८ प्रतिशतमा पुुगेको छ । ६.५५ प्रतिशतबाट कस्ट अफ फण्ड बढेर ८.०१ प्रतिशत पुुगेको छ ।