काठमाण्डौ । विश्वका धनाढ्य व्यवसायी एलन मस्कले इतिहासकै सबैभन्दा ठूलो दान गरेका छन् । फोब्र्सको रिपोर्टका अनुसार मस्कले नोभेम्बर २०२१ मा टेस्ला कम्पनीको ५ बिलियन डलरभन्दा बढी मूल्यको सेयर च्यारिटीलाई दान गरेका हुन् । सेक्युरिटीज एण्ड एक्सचेन्ज कमीशन फाइलिङका अनुसार मस्कले टेस्लाको ५० लाख ४४ हजार कित्ता सेयर सन् २०२१ को नोभेम्बर १० मा हस्तान्तरण गरेका हुन् । 

मस्कले एक महिनाअघि संयुक्त राष्ट्रसंघको एउटा कार्यक्रमका बारेमा आर्टिकलको जवाफ दिदैँ यदि कसैले उनको पैसाले विश्व भोकमरीको समस्या कसरी समाधान हुन्छ भन्ने उचित सुझाव दियो भने ६ अर्ब डलर दान गर्ने टिव्ट गरेका थिए । 

रिपोर्टका अनुसार मस्कले गरेको यो दान इतिहासकै सबैभन्दा ठूलो दान हो । तथापि मस्कले कुन ट्रस्टलाई दान गरे भन्नेबारे भने केही पनि खुलाइएको छैन । गत नोभेम्बरमा मस्कले टिव्ट पोल गरेका थिए । जसमा उनले कर तिर्नबाट जोगिने गरेको आरोपको सामना गर्ने प्रयासस्वरुप टेस्लाको आफ्नो १० प्रतिशत स्टक बिक्री गर्दा उचित हुन्छ कि हुुँदैन भनेर आफ्ना फलोअर्सहरुलाई प्रश्न गरेका थिए । जसको उत्तरमा ५८ प्रतिशतले मस्कले सेयर बिक्री गर्नुपर्ने बताएका थिए । टिव्टरमा मस्कको ७.३९ करोड फलोअर्स छन् । अर्थात ४.२९ करोड फलोअर्सले जवाफ दिएका थिए । 

ब्लुमबर्गको रिपोर्टका अनुसार मस्क र अमेरिकी राजनेताहरुबीच चलिरहेको द्वन्द्वका बीच दान दिने कदम उठाइएको थियो । यी राजनेताहरुमा बर्नी सेन्डर्स तथा एलिजावेथ वारेन जस्ता नेताहरु समावेश छन् । यी नेताहरुले एलम मस्क जस्ता धनाढ्यहरुको सेयर तथा अन्य सम्पत्तिहरुमा भारी कर लगाउनु पर्ने प्रस्ताव गरेका थिए । विशेष गरेर एलन मस्कको व्यक्तिगत सम्पत्तिलाई निशाना बनाइएको थियो ।