काठमाण्डौ । जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मंगलबार साँझ दुई विमान एकापसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान सुरू भएको छ । 
 

जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक  जहाज एकापसमा ठोक्किदा पाँच जनाको मृत्यु भएको थियो भने विमानस्थलको प्रयोग गरी अवतरण र उडान भर्ने ३०० भन्दा बढी उडान रद्द भएका थिए । 

हवाईजहाज, रेल र पानीजहाजमा भएका गम्भीर दुर्घटनाको अनुसन्धान गर्ने सरकारी निकाय जापान यातायात सुरक्षा बोर्डले बुधबार अपरान्ह विमानको भग्नावशेषको जाँच गरिरहेको छ ।
 

रक्षा बोर्डले सामुद्रिक सुरक्षा गार्डको विमानको फ्लाइट र भ्वाइस रेकर्डरहरू भेट्टाएको छ ।होक्काइदो प्रान्तको न्यू चिटोस विमानस्थलबाट उडेको जापान एयरलाइन्सको विमानको फ्लाइट र भ्वाइस रेकर्डरहरू खोजी गरिरहेको स्थानीय सञ्चार माध्यमहरूले समाचारमा उल्लेख गरेका छन् ।


राष्ट्रिय टेलिभिजन प्रसारणकर्ता एनएचकेका अनुसार हनेदा एयर ट्राफिक कन्ट्रोलरले दुर्घटना हुनुअघि यात्रुवाहक विमानलाई धावनमार्गमा अवतरण गर्न अनुमति दिएका थिए र कोस्ट गार्ड विमानलाई छोटो समयका लागि धावन मार्गमा पर्खिन निर्देशन दिएका थिए ।

 समाचार एजेन्सी क्योदोले पनि जापान एयरलाइन्सलाई उद्धृत गर्दै विमानका चालक दलका सदस्यले एयर ट्राफिक कन्ट्रोलको पुष्टि भएपछि अवतरण प्रक्रिया अघि बढाएको उल्लेख गरेको छ ।

दुर्घटनाका कारण विमानस्थलका सबै धावनमार्ग केही घण्टाका लागि बन्द गर्नुपरेको थियो भने आउने र जाने २२६ उडान रद्द भएका थिए ।

बुधबार तीनवटा धावनमार्ग खुला गरिए पनि दिनभरि करिब १०० वटा उडान बन्द हुने अनुमान छ ।जसका कारण १९ हजार यात्रुको यात्रा योजना प्रभावित भएका छन् ।
 

स्थानीय समयअनुसार मंगलबार साँझ ६ बजे एआरएल फ्लाइट ५१६, एयरबस ए–३५० हानेदाको सी–रनवेमा अवतरण गर्ने क्रममा कोस्ट गार्डको विमान एमए–७२२ र बम्बार्डियर ड्यास–८ दुर्घटना हुँदा दुवै विमानमा आगो लागेको थियो । 

एमए–७२२ विमानमा सवार चालक दलका छ सदस्यमध्ये पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने दुर्घटनापछि विमानबाट उम्कन सफल क्याप्टेन गम्भीर घाइते छन् ।

कोस्ट गार्डका प्रवक्ता योशिनोरी यानागिशिमाका अनुसार मध्य जापानमा सोमबार अपराह्न ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि हनेदा विमानस्थल बेससँग सम्बन्धित कोस्ट गार्डको विमान निगाता प्रान्तको भूकम्प प्रभावित क्षेत्रका लागि राहत सामग्री ढुवानी गर्न धावनमार्गमा विस्तारै गुडिरहेको थियो ।-एजेन्सी