काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई कर्मचारी बोनस वितरणमा कडाइ गरेको छ। 

प्राधिकरणले बीमकको वित्तीय विवरणसम्बन्धी निर्देशन, २०८० जारी गर्दै जीवन बीमा कम्पनीको कर्मचारी बोनस प्रयोजनमा यस्तो निर्देशन जारी गरेको हो। निर्देशिकाको अनुसूची ३६ बमोजिम जीवन बीमा कम्पनीले कर्मचारी बोनस प्रयोजनका लागि गणना गर्ने मुनाफा हिसाबमा निर्देशिकाको अनुसूची ५ बमोजिम पोर्टफोलियोहरुमा बाँडफाँड गरेको आयकरको रकम घटाएर कर्मचारी बोनस रकम गणना गर्नुपर्नेछ। 

अनुसूची ५ बमोजिम जीवन बीमा कम्पनीले सञ्चालक समितिबाट अनुमोदित भएको प्रतिवेदन, वित्तीय विवरण र वित्तीय सूचकांकको पोर्टफोलियोहरुमा बाँडफाँट गरेको आयकरको रकम घटाएरमात्रै कर्मचारी बोनसका लागि रकम छुट्याउनुपर्नेछ। यसआधारमा अब जीवन बीमा कम्पनीले खुद मुनाफाका आधारमा डाइरेक्ट १० प्रतिशत रकम कर्मचारी बोनसका लागि छुट्याउन पाउँदैनन्। 

त्यस्ता वित्तीय विवरण तथा सूचकांकहरुको पोर्टफोलियोमा आयकर रकम घटाएरमात्रै कर्मचारी बोनस रकम गणना गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। यसअघि जीवन बीमा कम्पनीहरुले बोनस ऐनबमोजिम खुद मुनाफाको १० प्रतिशत रकम कर्मचारी बोनसका लागि छुट्याउँदै आएका थिए। 

त्यस्तै, अब जीवन बीमा कम्पनीहरुले कर्मचारी तालिमका लागि पनि रकम छुट्याउनुपर्ने भएको छ। बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको कुल कर्मचारी खर्चको कम्तीमा २ प्रतिशत रकम कर्मचारी तालिममा खर्च गर्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ।