काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता)को अनलाइन परीक्षा सञ्चालन आजदेखि सुरु गरेको छ।

बीमा ऐन, २०७९ मा  ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था भएबमोजिम प्राधिकरणले पहिलोपटक जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सुरु गरेको हो।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालयमा जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालनको शुभारम्भ गरेका हुन्। उनले परीक्षामा सफल भई इजाजतपत्र पाउने बीमा अभिकर्ताहरुले गर्ने व्यवसायबाट बीमासम्बन्धी सही सूचना प्रवाह हुने र हाल बीमा बजारमा देखिएको बीमालेख व्यतित तथा सरेन्डरको समस्या समाधानमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे। 

प्राधिकरणको केन्द्रीय कार्यालयबाट आज पहिलो दिन सञ्चालित जीवन बीमा अभिकर्ता अनलाइन परीक्षामा देशका विभिन्न स्थानबाट ४७ जना परीक्षार्थी अनलाइन माध्यमबाट सहभागी भएका थिए। अनलाइन परीक्षा सञ्चालनको शुभारम्भ कार्यक्रममा नबीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल उपस्थित थिए। 

जीवन बीमा अभिकर्ताका लागि हाललाई एकपटकमा १०० जनासम्मले अनलाइन माध्यमबाट परीक्षा दिनसक्ने व्यवस्था गरिएको छ। परीक्षा सञ्चालन भएको मितिले ७ दिनभित्र जीवन बीमा अभिकर्ताको परीक्षाफल प्रकाशन गरिनेछ।

जीवन बीमा अभिकर्ताको अर्को परीक्षा यही कात्तिक २०, २२ र २४ गतेका लागि तोकिएको छ। इन्स्योरेन्स रेगुल्यारिटी म्यानेजमेन्ट इन्फोर्मेसन सिस्टम (आईआरएमआईएस)मार्फत बीमा अभिकर्ताको परीक्षाका लागि आवेदन दिने, एजेन्ट एक्जाम सिस्टमबाट आवेदन शुल्क बुझाउने, परीक्षा मिति चयन गर्ने तथा परीक्षा उत्तीर्ण हुनेले इजाजतपत्र शुल्क बुझाउने र आईआरएमआईएसबाट नै बीमा अभिकर्ताको इजाजतपत्र अनलाइनमार्फत प्रिन्ट गरेर लिन सकिने व्यवस्था प्राधिकरणले गरेको छ।