काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले बाँकेको नेपालगञ्जमा मुख्य कार्यालय रहेको राप्तिभेरी विकास बैंकलाई प्राप्तिको प्रस्ताव पारित गरेको छ । 

ज्योति विकास बैंकको भदौ ५ गते सम्पन्न विशेष साधारणसाभाले तीन जिल्ले विकास बैंक राप्तिभेरीलाई प्राप्तिको प्रस्ताव पारित गरेको हो । 

साधारणसभामा बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले सभाको अध्यक्षता ग्रहण गर्दै संचालक समितिको तर्फबाट आफ्नो प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमाथि सेयरधनीले उठाएका जिज्ञासाहरुको समाधान अध्यक्ष खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँवरले संयुक्त रुपमा गरेका थिए । 

विशेष साधारणसभाले २०७४।०१।१० मा जारी भएको बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकबाट २०७४।२।२२ मा जारी सूचना तथा २०७४।०४।१९ मा जारी विनियमालवी समेतका आधारमा ७ जना संचालक समिति रहने प्रावधान समेत स्वीकृत गरेको छ । 

त्यसैगरी ज्योति विकास बैंक लिमिटेडले राप्तीभेरी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रयोजनका लागि सम्पत्ति तथा दायित्वको मूूल्याङ्कनकर्ता लेखापरिक्षकबाट प्राप्त प्राप्ति गर्ने र विलय हुने संस्थाको चल/अचल सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङ्कन प्रतिवेदन(डिडिए) तथा सो समेतको आधारमा संयुक्त प्राप्ति (एक्विजिसन) समितिबाट निर्धारण गरिएको शेयर आदानप्रदान अनुपात(सेयर स्वाप रेसियो) १ः१ लाई अन्तिम स्वीकृति प्रदान गरेको छ । 

सो सभाले राप्तीभेरी विकास बैंक लिमिटेड प्राप्ति पश्चात प्राप्ति(एक्विजिसन) सम्बन्धी सम्झौता पत्र अनुसार ज्योति विकास बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि हुने हँुदा सो बमोजिम विकास बैंकको प्रबन्धपत्रमा आवश्यक संसोधन गर्न, हेरफेर गर्न र उपयुक्त ब्यबस्था गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धी प्रस्ताव पारित गर्ने र बैंकको प्रबन्धपत्रको दफा ५ मा उल्लेखित विकास बैंकको उद्देश्य प्राप्त गर्न गरिने कामहरुमा संलग्न अनुसार उपदफाहरु थप गर्ने गरी विकास बैंकको प्रवन्धपत्र संसोधन गर्ने निर्णय  समेत गरेको छ । 

सो सभाले बैंकले संचालनको दशौं वर्षमा आफ्नो छवि बजारमा स्थापना गर्न सफल भएको निश्कर्ष निकालेको थियो । 

आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखी बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबिएस सेवा समेत उपलब्ध गराउँदै आएको छ । 

साविक झिमरुक विकास बैंकसंग मर्जर गरी शाखा सञ्जाल ३२ वटा तथा एउटा एक्स्टेन्सन काउन्टर एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको यो बैंकका राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरे ६ वटा शाखा थप हुनेछन् । नेपाल राष्ट्र बैंकबाट थप ५ वटा शाखा संचालनको लागि अनुमति प्राप्त भएको र प्रदेश स्तरमा समेत थप शाखा संचालन गर्न आवश्यक तयारी भइरहेको सभामा बताइएको थियो  

बैंकले आ.व.७३/७४ मा करिब १ लाख खाताबाट १० करोड ५१ लाख निक्षेप संकलन गर्न र ८००० ऋणी मार्फत ९ अर्व १३ करोड ऋण लगानी गर्न सफल भएको थियो ।  यस अवधिमा बैंकले २६ करोड १८ लाख खुद मुनाफा आर्जन गरेको थियो । 

यो बैंकले हालै आफ्ना सेयरधनीलाई सतप्रतिशत हकप्रद बिक्री गरेको  थियो । हकप्रदपछि ज्योतिको चुक्तापूँजी दुई अर्ब २० करोड ८६ लाख रुपैयाँ पुगेको छ । राप्तीभेरीको चुक्तापुँजी १५ करोड ७० लाख ६४ हजार रुपैयाँ रहेको छ । एक्विजिसनपछि बन्ने बैंकको चुक्तापूँजी दुई अर्ब ३५ करोड नाघ्नेछ । बैंकले गत आर्थिक वर्षको कमाईबाट बोनस बितरण गरेर चुक्तापूँजी अढाई अर्ब रुपैंया पुर्याउने योजना बनाएको छ ।