काठमाण्डौ । ज्योति विकास बैंकले आफ्ना लगानीकर्तालाई बोनस सेयर र हकप्रद वितरणको एकसाथ घोषणा गरेको छ । 

यो बैंकले आफैं पूँजीवृद्धि गर्ने योजना अनुसार ११.७ प्रतिशत बोनस सेयर र त्यसपछि हुन आउने चुक्तापूँजीको सतप्रतिशत हकप्रद निश्कासनको घोषणा गरेको हो । 

कात्तिक ४ गते बसेको बैंकको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट बोनस सेयर र त्यसपछि १ बराबर १ को दरले हकप्रद वितरणको निर्णय गरेको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ । 

बैंकको बोर्डले गरेको यो निर्णय स्वीकृतिका लागि नियामक नेपाल राष्ट्रबैंक र बैंकको आगामी वार्षिक साधारणसभामा पेश गर्नुपर्नेछ । दुवै निकायबाट स्वीकृत भएपछि घोषित बोनस र हकप्रदका लागि लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।

ज्योति विकास बैंकले आर्थिक वर्ष २०७१/७२ मा ९ प्रतिशत मात्र लाभांश  वितरण गरेको थियो ।

यो बैंकले आर्थिक वर्ष २०७२/७३ मा १५ करोड २१ लाख खूद नाफा आर्जन गरेको थियो । बैंकको चुक्तापुँजी ९२ करोड ३४ लाख रुपैयाँ रहेको छ । ११.७ प्रतिशत बोनस सेयर र त्यसपछि सतप्रतिशत हकप्रद वितरणपछि चुक्तापूँजी २ अर्ब ६ करोड पुग्नेछ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत राष्टियस्तरको विकास बैंक बन्न ०७४ असार मसान्तभित्र २ अर्ब ५० करोड चुक्तापूँजी पुर्याउनुपर्ने व्यवस्था गरेको छ । 

झिमरुक विकास बैंकलाई अक्वायर गरी गत साउन १९ गतेबाट संयुक्त कारोबार सुरु गरेको ज्योति विकास बैंकले आगामी दिनमा अन्य साना संस्थालाई प्राप्ति गर्ने ढोका समेत खुल्लै राखिएको जनाएको छ ।