काठमाण्डौ । ज्योति विकास बैंकले आर्थिक वर्ष २०७४/७५ मा खूद नाफातर्फ ३३.५८ प्रतिशतको प्रगति गरेको छ । बैंकले मंगलबार जारी गरेको अपरिस्कृत वित्तीय विवरणमा अधिकांश सूचकहरुमा फड्को मारेको देखिएको हो । 

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण बैंकले समीक्षा अवधिमा ७६ करोड ५६ लाख खूद ब्याज आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो वर्षको यही अवधिमा ५१ करोड २७ लाखमा सीमित थियो । 

बैंकले २९ करोड १८ लाखमा सीमित संचालन नाफालाई बढाएर ४८ करोड माथि पुर्याएको छ भने २० करोड २१ लाखमा सीमित जगेडाकोषलाई बढाएर ५१ करोड ५३ लाखको उचाई चुमाएको छ । यो बैंकले पनि रिजर्बमा १५४.८८ प्रतिशतको फड्को मारेको देखिएको छ । 

बैंकले निक्षेप तथा कर्जा परिचालनमा समेत आफूलाई बलियो बनाउँदै लगेको देखिएको छ । समीक्षा अवधिमा ज्योति विकास बैंकले १९ अर्ब ५४ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ५१ करोड निक्षेप संकलन गरी ९ अर्ब १३ करोड कर्जा परिचालन गरेको थियो । 

उल्लेख्य व्यवसाय बिस्तार गरेर खूद ब्याज आम्दानीतर्फ राम्रै प्रगति गरेको भए पनि कर्मचारी तथा अन्य संचालन खर्चमा भने राम्रै बढोत्तरी भएको देखिएको छ । शाखा बिस्तार लगायतका कार्यले समेत खर्चको मिटर बढेको हुनसक्छ । 

समीक्षा अवधिमा बैंकले खराब कर्जालाई घटाएको छ । अघिल्लो वर्षसम्म ०.९६ प्रतिशत रहेको यस्तो कर्जा घटेर ०.३६ प्रतिशतमा सीमित बन्न पुगेको हो । 

समीक्षा अवधिमा बैंकको इक्वीटीमा प्रतिफल(आरओई) ९.८२ प्रतिशत र सम्पत्तिमा प्रतिफल(आरओए) १.२९ प्रतिशत रहेको छ । 

चुक्तापूँजीमा भएको सामान्य वृद्धि र नाफातर्फको औसत वृद्धिले यो बैंकको प्रतिसेयर आम्दानी बढेको छ । अघिल्लो वर्ष ११.४३ रुपैयाँ रहेको यस्तो आम्दानी बढेर यो वर्ष ११.७७ रुपैयाँ कायम भएको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ११९.८७ रुपैयाँ र मूल्य आम्द्यानी अनुपात ११.९८ गुणा कायम भएको छ ।