काठमाण्डौ । संभावित जोखिम  व्यवस्थापन कोषबाट ५९ करोड राइट ब्याक गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा २ अर्ब ८३ करोड खूद नाफा आर्जन गरेको छ । 

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो बैंकको खूद नाफा १९.३८ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ३७ करोड रहेको थियो । 

सेयर बजारका लगानीकर्ताका लागि हटकेक बन्दै आएको  यो  बैंकले आफूलाई अधिकांश सूचकमा झनै मजबुत बनाएको तेश्रो त्रैमासको रिपोर्टले देखाएको छ । 

गत वर्ष यही अवधिमा ८ अर्ब ७४ करोड रुपैयाँ रहेको चुक्तापूँजी बढेर यो वर्ष १० अर्ब ६४ करोड माथि पुगे पनि सो अनुसार नाफा भने बढाउन नसक्दा प्रतिसेयर आम्दानीमा झिनो गिरावट व्यहोरेको छ । अघिल्लो वर्ष ३६.२४ रुपैयाँ रहेको इपीएस यो वर्ष घटेर ३५.५५ रुपैयाँ कायम भएको हो ।

समीक्षा अवधिमा इन्भेष्टमेन्ट बैंकको खूद ब्याज आम्दानी ४ अर्ब ११ करोडको उचाईमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा ३ अर्ब ४७ करोड मात्रै थियो ।

यस्तै, बैंकले १ खर्ब ३० अर्ब निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ खर्ब १९ अर्ब निक्षेप संकलन गरी १ खर्ब १ अर्ब कर्जा परिचालन गरेको थियो ।

बैंकको निस्क्रिय कर्जा अनुपात भने बढेको छ । अघिल्लो वर्ष ०.६४ प्रतिशत रहेको यस्तो कर्जा अनुपात केही बढेर यो वर्ष ०.७६ प्रतिशत कायम भएको छ ।

अघिल्लो वर्ष ३ अर्ब ४५ करोडमा सीमित संचालन मुनाफा बढेर ३ अर्ब ७५ करोडको उचाईमा पुगेको छ भने ९ अर्ब ९५ करोडमा सीमित रिजर्ब कोष झनै मजबुत भई १० अर्ब ६४ करोड माथि पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २०२.५८ रुपैयाँ र मूल्यआम्दानी अनुपात १८.७६ गुणा कायम भएको छ ।