काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार २.१७ अंकले घटेको छ ।

अघिल्लो कारोबार दिन सोमबार भने बजार ११.२७ अंकले घटेको थियो ।मंगलबार बजार घटेर १ हजार ८९४.५३ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८६ अंकले घटेर ३६१.८५ को विन्दुमा पुगेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये २९० कम्पनीका ४७ लाख २७ हजार ९०२ कित्ता सेयर १ अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारको विषयमा साइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक बिरेन्द्र विष्ट भन्छन्, ‘बजार चार पटक १ हजार ८०० नजिक आइसकेको छ, हिजोआजको अवस्थाको कुरा गर्दा बजार घट्न भने रोकिएको छ ।लगानीकर्ता मौद्रिक नीतिको समीक्षाको प्रतीक्षामा छन् ।प्रत्यक्ष रुपमा बजारलाई प्रभाव पार्ने केहि चिज नआएता पनि अप्रत्यक्ष रुपमा अर्थतन्त्र र पूँजीबजारलाई  सहयोग गर्ने नीति आउन सक्दछ । अहिले पनि बजार ह्वारह्वारर्ती नबढेपनि बजार विस्तारै माथि नै जान्छ ।किनकि ब्याजदर अझै घट्ने देखिन्छ ।’

उनका अनुसार सेयर कर्जाका विज्ञापनहरु पनि आउन थालेका छन् । यी सबै कारणले गर्दा बजार सम्हालिदै गएको हो ।अर्का बजार जानकार दामोदर गजुरेल पनि लगानीकर्ताहरु मौद्रिक नीतिको समीक्षालाई कुरेर बसेको बताउँछन् ।

उनी भन्छन्, ‘सबैले मुलुकको अर्थतन्त्र ठिक रहेको बताइरहेका छन्,सरकार पनि यसमा लागि परेको देखिन्छ ।नीतिगत परिमार्जन हुने हो भने बजारले आगामी दिनमा २ हजार ३०० विन्दुसम्म पुग्नेछ,अन्यथा बजार १ हजार ८०० देखि २ हजारसम्म नै घुमिरहन्छ ।’

आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूह मध्ये व्यापार, होटल्स तथा टुरिजम,जलविद्युत्,उत्पादन तथा प्रोसेसिङ र म्युचुअल फन्ड समूह बाहेक अरु सबै समूह राताम्मे भएको छ ।
यो दिन सबैभन्दा बढी होटल्स तथा टुरिजम समूह ३.३३ प्रतिशतले बढेको छ  । यसैगरी दोस्रोमा म्युचुअल फनड समूह ०.८४ प्रतिशतले बढेको छ  ।यसैगरी, यो दिन सबैभन्दा बढी व्यापार समूह सवैभन्दा बढी ०.९९ प्रतिशतले घटेको छ । यसका साथै लघुवित्त समूह ०.५८ प्रतिशतले घटेको  छ। यसैगरी बैंकिङ र विकास बैंक समूह समान ०.५२ प्रतिशतले घटेको  छ। 
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन सोनापुर मिनरल्स एण्ड आयलकोे सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको सर्वाधिक ८ करोड ४९ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।

यसैगरी, दोस्रोमा साल्टी होटलको ६ करोड ५८ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ५४ लाख बराबरको सेयर कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन बूद्धभुमि हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरभाउ ९.९७ प्रतिशतले बृद्धि भएको छ । यसैगरी, यो दिन मन्दाकिनी हाइड्रोपावरकोे सेयरभाउ ८.९२ प्रतिशतले उकालो लागेको छ ।

त्यस्तै, तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य पनि ८.२४ प्रतिशतले उकालो लागेको छ ।

त्यस्तै, यो दिन नारायणी डेभलपमेन्ट बैंकको सेयरभाउ भने ५.३३ प्रतिशतले ओरोलो लागेको छ ।यसैगरी, मिड सोलु हाइड्रोपावरको सेयरमूल्य ४.७५ प्रतिशतले ओरालो लागेको छ ।