काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजार ३.४२ अंकले घटेर १ हजार ८४७.८१ को विन्दुमा बन्द भएको छ ।

यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.२२ अंकले घटेर ३५३.२१ को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २९२ कम्पनीका ३८ लाख ९६ हजार २८७ कित्ता सेयर १ अर्ब १९ करोड ७२ लाख ५७ हजार८९४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन ९६ करोड ४० लाख १० हजार ४३१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आजको बजारको विषयमा बजार जानकार अजय सिंह थापा(जयसम्भु) मौद्रिक नीतिको समीक्षाको प्रतीक्षामा  लगानीकर्ता बसेकाले बजारले गति लिन नसकेको बताउँछन् ।

उनी भन्छन्, ‘नीतिबाट केहि गरि लगानीकर्ताको अपेक्षा पुरा नभएको खण्डमा बजार ५०/ ६० अंक तल आउन सक्ला ।प्राविधिक रुपमा पनि बजार डिमान्ड जोनमा रहेको छ ।अहिले खासै ठूलो जोखिम पनि छैन ।यो एकुमुलेसन गर्ने समय पनि हो ।’

अर्का बजार जानकार विष्णु भूषालको विचारमा अहिले लगानीकर्ताहरु अन्योलमा रहेका छन् ।

उनी भन्छन्,‘ठूला लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् ।समयअनुसार नीतिमा पनि परिमार्जन हुँदै जान्छ ।माघ/फागुन महिनामा दोस्रो त्रैमासिक वित्तीय विवरण आएपछि भने बजारले गति लिन सक्छ ।र अब ब्याजदर पनि घट्दै गएकोले बजार विस्तारै सम्हालिन्छ ।’ उनले कम्पनीको खराब कर्जा बढ्दा प्रतिफलमा असर गरेको हो,त्यहि कारणले बजारलाई असर गरेको बताए ।

आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूह मध्ये  विकास बैंक, वित्त कम्पनी, जीबन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा समूह बाहेक अरु समूह राताम्मे भएका छन् ।

यो दिन वित्त समूह सबैभन्दा बढी अर्थात् ०.९७ प्रतिशतले जीवन बीमा समूह बढेको छ भने वित्त समूह ०.५५ प्रतिशतले बढेको छ  । यसैगरी निर्जीवन बीमा समूह ०.३४ प्रतिशतले बढेको  छ  ।यसैगरी, यो दिन अन्य  समूह र बैंकिङ समूह समान ०.६२ प्रतिशतले घटेको छ । यसैगरी लगानी समूह ०.४८ प्रतिशतले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन सबैभन्दा बढी सोनापुर मिनरल्स एन्ड आयलको ७ करोड ४६ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । यसैगरी हिमालयन डिस्टीलरीको ७ करोडभन्दा बढीको कारोबार भएको छ । कम्पनीले यो दिन २५ प्रतिशत लाभांश घोषणा गरेको छ ।जसमा कम्पनीले १० प्रतिशतकोदरले बोनस सेयर र १५ प्रतिशत(लाभांश करसहित) नगद लाभांश वितरणको निर्णय गरेको छ ।

त्यस्तै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
धेरै कमाउने र धेरै गुमाउने
यो दिन समाज लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरैले बढेको छ । यो दिन कम्पनीको सेयरभाउ ८.०६ प्रतिशतले बृद्धि भएको छ ।

यसैगरी, एनएमबि डिवेञ्चर इकाई  ५.९८प्रतिशतले उकालो लागेको छ ।

त्यसैगरी, तेह्रथुम पावर कम्पनीकोे सेयरमूल्य ५.८८ प्रतिशतले उकालो लागेको छ ।त्यस्तै, यो दिन एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमन्ट र माउन्टेन इनर्जि नेपालको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।