काठमाण्डौ ।साताको चौथो कारोबार दिन बुधबार सेयरबजार २.६० अंकले बढेर १ हजार ९८८.०४ को विन्दुमा बन्द भएको छ ।

अघिल्लो कारोबार दिन भने बजार ३६.८६ अंकले बढेको थियो ।बुधबार राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ अंकले बढेर ३७५.३०को विन्दुमा पुगेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये २९२ कम्पनीका १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

लामो समयपछि यो दिन नेप्से परिसूचक २ हजार विन्दुको मनोबैज्ञानिक प्रतिरोधलाई पार गरेको थियो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा सेयरबजारप्रति थप लचकता अपनाएपछि बजार बढ्न थालेको हो ।

आजको बजारको विषयमा बजार जानकार केशब कोइराला(काका) भन्छन्,‘केहि दिनदेखि बढेको बजारमा आज नाफा बुक भएको हो,यसलाई सामान्य करेक्सनको रुपमा लिन सकिन्छ ।यसलाई बजार पस्ने सूवर्ण अवसरको रुपमा पनि लिन सकिन्छ ।सोमबार सेयर किनेका लगानीकर्ताहरुले आगामी बिहीबार पनि बिक्री गर्न सक्छन्, यसले बिक्री दबाब पनि आउन सक्छ ।आज कारोबार घट्नुलाई बजार झर्दा राम्रो मान्न सकिन्छ ।’ 
उनका अनुसार लगानीकर्ताको मनोबल सकारात्मक नै रहेको छ,डराइहाल्नु पर्ने अवस्था छैन ।

अर्का बजार जानकार निमानन्द कणेंल आज दिन भरको कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको घम्साघम्सी नै भएको बताउँछन् ।

उनी भन्छन्, ‘ बजार यो दिन २ हजारको मनोबैज्ञानिक विन्दुमाथि टिक्न नसक्नुमा करिब २०० अंकजति बढेको बजारलाई हेर्दा नाफा बुक नै हो भन्न सकिन्छ । कारोबारले पनि साथ दिएको छ ।अल्पकालिन ट्रेडर हावी हुँदा हुने यस्तै हो, बजारमा कर्नरिङ हुँदै बजारले फेरि गति लिन्छ ।

आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूहमा होटल्स एन्ड टुरिजम, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूह बाहेक अरु सबै समूहमा हरियाली छाएको छ ।

यो दिन सबैभन्दा बढी विकास बैंक समूह १.१५ प्रतिशतले बढेको छ । यसैगरी,दोस्रोमा लघुवित्त समूह ०.८२ प्रतिशतले बढेको छ ।त्यस्तै म्युचुअल फन्ड समूह ०.७८ प्रतिशतले बढेको छ । यसैगरी, यो दिन होटल्स एन्ड टुरिजम सबैभन्दा बढी १.६२ प्रतिशतले घटेको छ । त्यसैगरी जीवन बीमा समूह निर्जीवन बीमा समूह क्रमश १.१४ र १.३१प्रतिशतले  घटेको  छ। 
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन सबैभन्दा बढी कारोबार सोनापुर आयल एन्ड मिनरल्सको भएको छ । कम्पनीको १४ करोड ६७ लाख रुपैयाँभन्दा बढीको सेयर बिक्री भएको  छ।

त्यस्तै, शिवम् सिमेन्टसको १२ करोड ६६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
यसैगरी, अरुण काबेली हाइड्रोपावरको १२ करोड ४२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

कम्पनीको मंगलबार मात्रै हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको थियो ।
धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन तीन ओटा अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा बोटलर्स नेपाल (बालाजु), मोलुङ हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर कम्पनी रहेका छन् ।

यसैगरी, सानीमा डिवेञ्चर २०८७ र मानुषी लघुवित्त वित्तीय संस्थाको मूल्य भने समान ९.७८ प्रतिशतले बढेको छ ।
त्यस्तै, यो दिन कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयरमूल्य ५.५९ र सुपरमाई हाइड्रोपावरको सेयरमूल्य ५.०१ प्रतिशतले घटेको छ ।

यसैगरी, सानीमा जीआईसी इन्स्योरेन्सको सेयरमूल्य पनि ४.४७ प्रतिशतले घटेको छ ।