काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार १.९३ अंकले घटेर २ हजार ६८.९० को विन्दुमा बन्द भएको छ ।

राम्रा र बलियाकम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६२ अंकले घटेर ३८५.४४ को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये ३०३ वटा कम्पनीका १ करोड १६ लाख ५८ हजार ११० कित्ता सेयर ४ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारको विषयमा बजार जानकार उपेन्द्र पाठक भन्छन्,‘पुस मसान्तको क्लोजिङको कारणले बजार सुस्ताएको जस्तो देखिएको हो ।तर पनि यो सेयर जम्मा गर्ने नै समय हो, बजारमा सेयर लोन पनि आएको छ, त्यसैले बजारदेखि डराई हाल्नु पर्ने अवस्था छैन ।’
 

यसैगरी,अर्का बजार जानकार एवं सेयरधनी लगानीकर्ता संघका उपाध्यक्ष कमलराज अधिकारी भने बजारले अब माथिको  बुलिसको यात्राले नै लिने बताउँछन् ।

उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले पनि पूँजीबजारलाई सम्बोधन गरेका छन् ।

उनी भन्छन्, ‘ ब्याजदर घटेको छ, तरलता पनि बढेको छ, सबैतर्फ राम्रो माहोल बनेको छ, त्यसैले अहिले डराउनु पर्ने कुनै कारण छैन, लगानीकर्ताले ढुक्क भएर लगानी  गर्दा हुन्छ ।’
 

त्यसैगरी, अर्का बजार जानकार प्रेम ओली पनि केहि दिनदेखि घटेको बजार आज सम्हालिएको बताउँछन् । उनी भन्छन्, ‘ किन कि बजार घट्ने क्रम घटेको छ, कारोबार नबढ्नुको कारण चाहिं घटेर सेयर बिक्री गर्न नचाहनु नै हो ।’

आज नेप्से उपसमूहमा रहेका १३ ओटा समूहमध्ये होटल्स एन्ड टुरिजम, लगानी समूह, उत्पादन तथा प्रोसेसिङ समूह,म्युचुअल फन्ड,निर्जीवन बीमा, अन्य समूहमा हरियाली छाएको छ भने बाँकीमा अरु समूहमा रातो पोतिएको छ ।
 

यो दिन सबैभन्दा बढी उत्पादन तथा प्रोसेसिङ समूह १.२९ प्रतिशतले बढेको छ । यसैगरी, होटल्स एन्ड टुरिजम समूह १.१२ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी समूह ०.७६ प्रतिशतले बढेको छ । यो दिन व्यापार समूह १.७१ प्रतिशतले घटेको छ ।

त्यस्तै विकास बैंक ०.७३ प्रतिशतले घटेको छ । यसैगरी,बैंकिङ समूह ०.५० प्रतिशतले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन पनि पनि सबैभन्दा बढी कारोबार सोनापुर आयल एन्ड मिनरल्सकोे भएको  छ। कम्पनीको १४ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी दोस्रोमा शिवम् सिमेन्टको १३ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ।
तेस्रोमा घोराही सिमेन्टको १३ करोड ४३ लाख रुपैयाँभन्दा बढीको सेयर बिक्री भएको  छ।
यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन सात ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्ममक सर्किट लागेको छ । 
हाथवे इन्भेष्टमेन्ट नेपाल,भिजन लुम्बिनी ऊर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर,मनकामना इन्जिनियरिङ हाइड्रोपावर,मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी र तारागाउँ रिजेन्सी होटलको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

यसैगरी, यो दिन दुई ओटा कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

यो दिन बीपी डब्लू लघुवित्त वित्तीय संस्था र  धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ  ।