काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार बजार ०.६२ प्रतिशतले घटेर २ हजार ८८.९९ विन्दुमा बन्द भएको छ ।

यसैगरी, यो दिन राम्रा र बलिया कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स पनि ले २.१९ अंकले घटेर ३८४.१४ विन्दुमा बन्द भएको छ ।

यो दिन कुल ४ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबार बारे बजार जानकार प्रेम ओली भन्छन्, ‘बजारमा सबै माहोल सकारात्मक नै छ यद्यपि बजारले गति लिन सकेको देखिएन किनकि बजारमा नयाँ पैसा आउन सकेको छैन र बैंकले आक्रामक रुपमा सेयर कर्जा  प्रवाह गरेका छैनन् ।’

उनका अनुसार ठूला लगानी पनि ढुक्क हुन सकेको देखिएन । निक्षेपको ब्याजदर घटेता पनि बेस रेट र प्रिमियको रेट घटेको छैन र अझै पनि उधारोमा नै कारोबार गर्ने र छिटोछिटो नाफा बुक गर्ने प्रबृति बढेको हुँदा पनि बजार माथि जान नसकेको हो ।

उनले लगानीकर्ताले अझै पनि नेपाल राष्ट्र बैंकबाट नीतिगत समीक्षा कुरेको बताए ।
 

अर्का बजार जानकार सूर्यनारायण पौडेल भन्छन्, ‘पहिलेको तुलनामा अहिले बजार बलियो नै छ । किनकि बजार सेक्टर रोटेसन हुँदै चलेको छ तर पनि बैंकिङ सेक्टर चल्न नसक्दा  बजार सोचेअनुसार अगाडि बढ्न सकेको छैन।’
 

उनका अनुसार बजार बढ्नलाई नयाँ लगानीकर्ता पनि प्रवेश गर्नुनै पर्दछ ।प्राविधिक रुपमा बजारमा सुटिङ स्टार बनेको देखिन्छ ।यद्यपि सुटिङ स्टारका साना साना आकृति बनेका कारण लागनीकर्ताले घटेर बेच्न नचाहेको पुष्टि हुन्छ । 
 

आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूहमध्ये हाइड्रोपावर,लघुवित्त,अन्य र व्यापार समूह बाहेक अरु सबै समूह राताम्मे छ ।यो दिन हाइड्रोपावर समूह १.५६ प्रतिशतले बढेको छ ।

यस्तै लघुवित्त समूह ०.८३ प्रतिशतले बढेको छ । त्यस्तै जीवन बीमा समूह १.०४ प्रतिशतले घटेको  छ।यसैगरी, होटल एन्ड टुरिजम समूह १ प्रतिशतले घटेको छ ।

त्यस्तै,विकास बैंक समूह ०.९२ प्रतिशतले घटेको छ । वित्त समूह भने ०.८९ प्रतिशतले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन बैंकको संस्थापकतर्फको २३ करोड ८५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै, दोस्रोमा नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापकतर्फको १९ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै सोनापुर मिनरल्स एन्ड आयलको १६ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यसैगरी,   हाथवे इन्भेष्टमेन्ट नेपालको १२ करोड ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।यसका साथै सानीमा मिडिल तमोरको १० करोड १९लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने र गुमाउने
यो दिन आठ वटा अलग- अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन सकारात्मक सर्किट लागेका कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, त्रिशुली जलविद्युत कम्पनी रहेका छन् ।

यसैगरी,समाज लघुवित्त वित्तीय संस्था,निर्धन लघुवित्त वित्तीय संस्था, मिड सोलु हाइड्रोपावरको सेयरमूल्य र मेगा म्युचुअल फन्डको इकाई मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । 
 

त्यस्तै यो दिन  नौ प्रतिशत एसबीआई बैंक ऋणपत्रको इकाई सबैभन्दा धेरै अर्थात् ९.६० प्रतिशतले घटेको छ।

त्यस्तै मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ४.५२ प्रतिशतले घटेको छ ।