– मनिष सोती

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले झुटो विवरण बुझाउने १९ बीमा कम्पनीलाई कारबाही गर्ने भएको छ। 

बीमा कम्पनीहरुले हरेक आर्थिक वर्षको असार मसान्तमा आईआरएमआईएस नामक अनलाइन प्रणालीमार्फत बीमा व्यवसायसम्बन्धी विवरण प्राधिकरणमा पेस गनुपर्ने प्रावधान छ। सोहीबमोजिम १९ बीमा कम्पनीको बीमा व्यवसायसम्बन्धी विवरण झुटो देखिएकोले प्राधिकरणले कारबाही प्रक्रिया अघि बढाउने भएको हो। 

आईआरएमआईएसमा सबमिट गरिएको विवरण र साउन १ गतेको स्थलगत निरीक्षणका क्रममा प्राप्त विवरणबीच फरक देखिएपछि प्राधिकरणले गत साउन २९ गते १९ वटै बीमा कम्पनीलाई पत्र लेखेर स्पष्टीकरणसमेत सोधेको थियो। प्राधिकरणले ती कम्पनीहरुलाई एक साताभित्र झुटो विवरणसम्बन्धी स्पष्टीकरण पेस गर्नसमेत निर्देशन दिएको थियो। 

कम्पनीहरुले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएपछि कारबाही गर्ने तयारी भएको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए। ‘गल्ती गर्ने कम्पनीलाई अवश्य कारबाही हुन्छ, ढिला चाँडोको कुरा होला तर कारबाही हुन्छ’, सिलवालले भने, ‘विगतमा पनि हामीले गल्ती गर्ने कम्पनीलाई कारबाही गर्दै आएका छौँ, ती १९ वटा कम्पनीको बीमा व्यवसायसम्बन्धी विवरण नै झुटो देखिएपछि हामी पनि चुप लागेर बस्न मिल्दैन।’

सिलवालका अनुसार झुटो विवरण बुझाउने १९ कम्पनीलाई के–कस्तो खालको कारबाही गर्ने भन्ने कुराको निर्णय बोर्डले गर्नेछ। ‘कारबाही गर्ने कुरा भइरहेको छ तर तत्कालै के–कस्तो कारबाही गर्ने भन्ने कुराको निर्णय भइसकेको छैन’, उनले भने, ‘१९ कम्पनीले झुटो विवरण बुझाएको कुरा त प्रमाणित भइसक्यो। यसकारण पनि कारबाही त गर्नैपर्छ। ती कम्पनीलाई बीमा ऐन, २०७९ बमोजिम कारबाही हुन सक्छ या त पहिलोपटकका लागि सचेत पनि गराउन सकिन्छ।’ 

बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा ४ अनुसार बीमा ऐनअन्तर्गत बनेको नियम, विनिमय वा निर्देशन वा आदेशविपरीत बीमकले कुनै कार्य गरेमा वा प्राधिकरणले जारी गरेको निर्देशन वा आदेश पालना नगरेमा वा यस ऐनबमोजिमको रित नपु्र्याई बीमा व्यवसाय गरेमा वा झुट्टा विवरण तयार गरेमा प्राधिकरणले पहिलोपटकका लागि २ लाख रुपैयाँ, दोस्रोपटकका लागि २५ लाख रुपैयाँ र तेस्रोपटक वा सोभन्दा बढीको लागि पटकैपिच्छे ५० लाख रुपैयाँ जरिवाना भराउन सकिने व्यवस्था छ। 

बीमा प्राधिकरणले १९ बीमा कम्पनीलाई बीमा ऐन, २०७९ बमोजिम कारबाही गर्ने हो भने २–२ लाखसहित जरिवाना तिराउनेछ। तर, यसअघि प्राधिकरणले ती कम्पनीहरुलाई स्पष्टीकरण पेस गर्न माग गरिएको पत्रमा बीमा ऐनको दफा १३९ को प्रयोजनार्थ यो सूचना जारी गरिएको छ भनेर उल्लेख थियो। यसअनुसार बीमा ऐन, २०७९ को दफा १३९ को उपदफा ४ मा बीमा ऐनबमोजिम प्राधिकरणले कारबाही वा जरिवाना गर्दा अवलम्बन गर्नुपर्ने अन्य कार्यविधि प्राधिकरणले नै निर्धारण गरेबमोजिम हुनेछ भनी उल्लेख गरिएको छ। यसर्थमा झुटो विवरण बुझाएका १९ कम्पनीलाई के–कति जरिवाना भराउने प्राधिकरणले नै निर्धारण पनि गर्न सक्नेछ। 

कुन–कुन पर्दैछ कारबाहीमा ? 

बीमा व्यवसायसम्बन्धी झुटो विवरण बुझाउने जीवन बीमा कम्पनीरुमा हिमालयन लाइफ, सूर्यज्योति लाइफ, एसियन लाइफ, नेपाल लाइफ, नेसनल लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, सानिमा रिलायन्स लाइफ र आइएमई लाइफ छन्। त्यस्तै, असार मसान्तमा ३ दिनसम्म बीमाको कारोबार नै नगरेको प्रभु महालक्ष्मी लाइफसमेत तथ्यांक ढाँटेकोमा कारबाहीमा पर्ने भएको छ।

त्यस्तै निर्जीवन बीमा कम्पनीतर्फ युनाइटेड अजोड इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर, शिखर इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी छन्।  

अधिकांश बीमा कम्पनीले वास्तविक कारोबारभन्दा अधिक अंक उल्लेख गरेर प्राधिकरणलाई तथ्यांक पेस गरेका थिए।