 
                     
                                
                             
                                    काठमाण्डौ । टर्कीको मुद्रास्फिति बढेर ७९ प्रतिशतको अत्यासलाग्दो अवस्थामा पुगेको छ । यतिधेरै मुद्रास्फिति सो देशमा पछिल्लो आधा शताब्दीमा पहिलोपटक बढेको हो ।
टर्कीको तथ्याङ्क विभागलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेको समाचारअनुसार कतिपय प्रक्षेपणकर्ताहरुलाई समेत माथ खुवाउँदै टर्कीको मुद्रास्फितिले अत्यासलाग्दो रेकर्ड बनाएको हो ।
यो देशको जून महिनाको वार्षिकीकृत मुद्रास्फिति दर ७८.६२ प्रतिशत रहेको समेत समाचारमा जनाइएको छ । मासिक वृद्धिदर चाहि ४.९५ प्रतिशत रहेको छ ।
उपभोग्य वस्तुमा भएको अचाक्ली मूल्यवृद्धिले ८ करोड ४० लाख जनसंख्या रहेको यो देशको आर्थिक अवस्था जर्जर बनाइदिएको छ । रुस–यूक्रेन युद्धका कारण इन्धन र उपभोग्य वस्तुको मूल्यमा भएको अचाक्ली बढोत्तरी तथा यहाँको राष्ट्रिय मुद्रा ‘लिरा’को तीव्र अवमूल्यन लगायतका कारणले यस्तो अवस्था बनेको बताइएको छ ।
यहाँ गत वर्षको तुलनामा ढुवानी खर्च १२३.३७ प्रतिशतले बढेको छ भने खाना तथा नन्–अल्कोहलिक वेभरेजको मूल्य पनि ९३.९३ प्रतिशतले बढिसकेको त्यहाँका सरकारी एजेन्सीहरुलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।
त्यहाँको अर्थव्यवस्था यस्तरी बिग्रिएको छ कि केन्द्रीय बैंकका गभर्नर पटक–पटक परिवर्तन गर्दा समेत पार लागेको छैन । टर्किस सरकारले आर्थिक मन्दी, मुद्रास्फि ति लगायतमा परिणाममुखी काम गर्न नसकेको भन्दै गत २ वर्षको अवधिमा ४ जना गभर्नर फेरिसकेको छ । तर, परिणाम झन्–झन् भयावह बनिरहेको छ । अवस्था केन्द्रीय बैंकको नियन्त्रणभन्दा बाहिर गइसकेको देखिएको समाचारमा उल्लेख छ ।
मुद्रास्फिति ह्वात्तै बढे पनि यो देशको ब्याजदर भने गत वर्ष नाटकीय ढंगले घटेर १४ प्रतिशतमा सीमित बनेको थियो र त्यसबेलादेखि ब्याजदर स्थिर नै छ । गत वर्ष राष्ट्रिय मुद्रा लिरा अमेरिकी डलरको तुलनामा ४४ प्रतिशतले अवमूल्यन भएको थियो भने यो वर्ष २१ प्रतिशतले अवमूल्यन भइसकेको छ ।  
टर्कीको सरकारले ब्याजदर नबढाई लिराको मूल्य बढाउने प्रयासका लागि अपरम्परागत नीतिहरू ल्याएको छ। जून महिनाको अन्तमा, टर्कीको बैंकिङ नियामकले धेरै विदेशी मुद्रा भएको ठानेका कम्पनीहरूलाई लिरा ऋणमा प्रतिबन्धको घोषणा गर्यो, जसले मुद्रालाई छोटो रूपमा बढायो, तर लगानीकर्ताहरू बीच थप अनिश्चितता ल्यायो, जसले यो उपायको स्थिरतामाथि पनि प्रश्न उठाइदिएको छ । 
नेपालको पनि पछिल्ला आर्थिक सूचकहरु हेर्ने हो भने टर्कीकै पद्चाप पछ्याउन थालेको हो कि भन्ने देखिन्छ । नेपाली मुद्रा समेत इतिहासकै सबैभन्दा कमजोर बनिसकेको छ र दैनिकजसो अवमूल्यन भइरहेको छ । ढुवानी खर्च ह्वात्तै बढेको छ भने उपभोक्ता मुद्रास्फिति पनि नियन्त्रणबाहिर छ ।
जुनसुकै बेला नेपालमा समेत भयावह आर्थिक संकट निम्तिन सक्ने अवस्था देखिन्छ । बेलैमा सचेत नहुने हो भने नेपालले पनि टर्कीको जस्तै नियति भोग्नुपर्ने अवस्था आउनसक्छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19