काठमाण्डौ । असारमा सरकारी खर्च र त्यसको भुक्तानी बढेर बैंकहरुमा थुप्रिएको निक्षेप र त्यसको तुलनामा कर्जा माग न्यून हुँदा समग्र बैकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापनका लागि बुधबार नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षमा दोश्रोपटक रिभर्स  रिपो जारी गर्ने भएको छ । 

साउन ५ गते ७ दिनका लागि जारी रिपोबाट समेत अधिक तरलताको व्यवस्थापन नभएपछि दोश्रो पटक बुधबार  पुनः १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी हुन लागेको हो । 

साउन ५ गते जारी १० अर्बको रिपोमा साढे ७ अर्ब रुपैयाँको मात्रै माग आवेदन परेको थियो । 

तरलता व्यवस्थापन अझै नभएकोले राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गर्न लागिएको राष्ट्रबैंकले जनाएको छ । जसअनुसार रिपोको म्याचुरिटी पिरियड अर्थात बैंकहरुले रिपोमा राखेको रकम फिर्ता पाउने समयत साउन १९ गते तोकिएको छ । 

जारी रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने र त्यस्ता संस्थासँग मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । 

रिपोमा सहभागी हुन बैंकहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने छ । परेको बोलकबोलबाट भारित औषतमा व्याजदर निर्धारण गरिने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठले बिजशालालाई जानकारी दिए । 

हाल बैंकिङ प्रणालीमा ४५ अर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता रहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैंकिङ प्रणालीमा रहेको लगानी योग्य पुँजीको पर्याप्तता (अधिक तरलता) व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले रिपो जारी गर्न लागेको  हो । 

उनको भनाईमा असारमा सरकारी खर्च र त्यसको भुक्तानी बढेकाले बैंकहरुमा निक्षेप थुप्रिएको छ र त्यसको तुलनामा कर्जा माग न्यून छ, जसका कारण तरलता बढेर समस्या निम्तिएको हो । 

आर्थिक वर्ष २०७२/७३ मा पनि केन्द्रीय बैंकले विभिन्न समयमा गरी करिब साढ ५ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थयो ।