काठमाण्डौ । सिप्रदी ट्रेडिङले आयात गरेको विद्युतीय कार(इभी गाडी)मा बग्रेल्ती समस्या देखिइरहेका छन् । 

टाटाले उत्पादन गरेर नेपाल पठाएका सबै लटका इभी गाडीमा समस्या देखिन थालेको हो । 

टाटाको नेक्सन इभीको ब्याट्री, ब्याट्री म्यानेजमेन्ट सिस्टम(बिएमएस), माइलेज, सेफ्टी लगायतमा गम्भीर समस्या देखिएको विषय बाहिरिएसँगै टाटाको टियागो र टिगोरमा समेत उस्तै समस्या देखिन थालेको हो । 

आफ्ना शाखाहरुका लागि वातावरण संरक्षणको उद्देश्य राखेर करिब ८ महिनाअघि एकैपटक २० वटा टाटाको टिगोर इभी खरीद गरेको कुमारी बैंक लिमीटेडका चालक र कर्मचारीहरुले ब्याट्रीकै कारण दैनिक समस्या भोगिरहेका छन् । 

बैंकले खरीद गरेका टाटाको टिगोर इभी चलाउनका थालेको छोटो समयमै समस्याहरु आउन थालेको देखिन्छ । मुख्य समस्या टाटाको नेक्सन र टियागोमा जस्तै छ । अर्थात ब्याट्री र यहीसँग सम्बन्धित समस्या । 

बैंकका एक चालकले भिडियो कुराकानीका क्रममा टाटाको टिगोर इभीको ब्याट्रीमा समस्या देखिएको बताए । उनले भने–‘टाटाको टिगोर मात्र होइन, यसले नेपाल ल्याएका कुनै पनि इभी गाडीको काम छैन ।’ 

ती चालक बिजशालासँग भनेका कुरा जस्ताको तस्तै–‘सर टाटाको यो  इभी गाडीको काम नै छैन । ब्याट्रीमा निकै ठूलो समस्या छ । तीनवटा साइट भिजिटमा गयो भने ब्याट्री सकिन्छ । रेञ्ज ३२० को देखाउँछ, फूल चार्जमा । तर १ प्रतिशत घट्नेबित्तिकै २९८ मा आउँछ । इभी लिनुहुन्छ भने एमजी र टाटाको लिँदै नलिनू, बिवाइडी बरु ठीक छ । 
टाटाको टियागोको पनि काम छैन । टाटाको इभी गाडीमा ब्रेकमा पनि समस्या छ । ह्याण्ड ब्रेक तानेर रोकेको गाडी आफैं गुडेर अस्ती भर्खर मान्छे झण्डै मार्यो, अनि यस्तो गाडीको के काम ? 

सर, यो कुमारी बैंकको गाडी हो । पुतलीसडक ब्राञ्चको हो । बैंकले ३५ वटा लिएको हो एकैपटक भन्ने सुनेका हौं । बैंकबाट टाटाले विजिनेश त गर्यो होला, तर टाटाका कुनै पनि इभी गाडी टिकाउ छैनन्। 
यो गाडी कुदाउँदा कुदाउँदै बीच बाटोमै अड्किन्छ । ३२० रेञ्ज देखाउँछ, त्यो पुग्दै पुग्दैन । त्यसरकारण यसको कुनै ठेगान छैन । चार्ज फूल देखाउँछ, एककिलोमिटरमै २ प्रतिशत घटिदिन्छ, काम नै भएन नि यसरी त ।’ 

 

यसअघिका समाचार:

सम्पादन नगरिएको भिडियो हेर्नुहोस्, सुन्नुहोस् :