काठमाण्डौ । जुन २०२२ मा मुम्बईमा टाटा नेक्सन ईभीमा आगो लागेको घटना भारतसहित विश्वभर भाइरल भयो । इभी कारमा आगलागी भएको सो घटना मुम्बईको वसई पश्चिम (पञ्चवटी होटल नजिकै)बाट रिपोर्ट गरिएको थियो, र टाटा नेक्सन ईभी आगलागीमा परेको भिडियो सोशल मिडियामा भाइरल भयो।

कारका मालिकले इभी चार्ज गरेर गाडी कुदाएको केही मिनेटमै सो डरलाग्दो घटना भएको थियो । करिब ५ किलोमिटर यात्रा गरिसकेपछि कारबाट केही अनौठा आवाज उनले सुने र ड्यासबोर्डमा चेतावनीको फ्ल्यास पनि देखे । अलर्ट भएर कारबाट बाहिर निस्किएलगत्तै ब्याट्री बमकै शैलीमा विस्फोट भयो र टाटाको नेक्सन इभीमा दनदनी आगो सल्कियो । कारका मालिक बालबाल बचे । 

गत वर्ष नै भारतको पुनेमा समेत यस्तै अर्को घटना भयो । कुदाउँदा कुदाउँदैको टाटा नेक्सनको इभीमा आगो लाग्यो । चालकको हात जलेर सामान्य घाइते समेत भए ।  

यो एकवर्षको दौरानमा भारतमा टाटाको इभी गाडीमा आगलागी हुने करिब आधा दर्जन घटना रेकर्ड भएका छन् । 

ती सबै घटनामा आफूहरुको कमजोरी नरहेको टाटा मोटर्सले सार्वजनिक विज्ञप्तिबाजी गर्यो । तर, स्वतन्त्र प्राविधिकहरुले भने टाटाका इभी गाडीमा प्रयोग हुने ब्याट्रीको गुणस्तरमा प्रश्न उठाउँदै प्रयोगकर्ताले भयावह घटना सामना गर्नुपरेको टिप्पणी गरे । 

मिनिस्टर अफ स्किल डेभलपमेन्ट एण्ड इन्टरप्रेनियरसिप अन्तर्गतको अटोमोटिभ स्किल्स डेभलपमेन्ट काउन्सिलका एक अधिकारीले नेक्सन इभीका कारहरुको ब्याट्री विस्फोट भई गुड्दा गुड्दै आगलागी हुने घटना बढेपछि भनेका थिए–‘भारतमा इभी गाडीको नाममा जनतालाई मूर्ख बनाउने काम भइरहेको छ । डिजल प्ल्याटफर्ममा बनेका गाडीमा जबरजस्ती ब्याट्री घुसाएर इभी भन्दै बिक्री हुने काम तत्काल बन्द हुनुपर्छ ।’

यस्ता आवाजहरु अरु पनि सुनिए । तर टाटा मोटर्सले इभीको नाममा चलाएको ‘ठगीधन्दा’को विषयमा छानबिन गर्ने र कारबाहीको प्रक्रिया अगाडि बढाउने चेस्टासम्म भएन । शक्ति र पैसाको आडमा आगलागीका घटनालाई सामसुम पार्न कम्पनी सफल भए पनि भारतको केन्द्रीय सरकार टाटाको इभी बिस्तार अभियानप्रति कहिल्यै सकारात्मक भएन । यसैकारण हुनुपर्छ इभीको बजार बिस्तारमा भारतका प्रतिस्पर्धी मुलुकहरुले तीव्र फड्को मारिरहँदा यहाँको गति भने सुस्त बन्यो । उदाहरणका लागि गत एक वर्षमा भारतमा मुश्किलले १ लाख युनिट इभी गाडी बिक्री भए । जब कि त्यही अवधिमा चीनमा ६० लाख युनिट इभी गाडी बिक्री भए । 

किन लाग्छ त इभीमा आगो ?
विद्युतीय सवारी साधनलाई विश्वकै सुरक्षित सवारीको रुपमा लिइने गरिन्छ । वास्तविक इभी प्ल्याटफर्ममा बनेका इभी गाडीहरुमा जडान हुने विश्वस्तरीय ब्याट्रीका कारण फेलियरको घटना नगण्य हुन्छ । 

दाहरणका लागि क्याटल ब्राण्डका ब्याट्री टेस्लादेखि विश्वका चर्चित इभी ब्राण्डहरुले प्रयोग गर्छन् । ब्याट्री महङ्गो भए पनि यसले ३० भन्दा बढी देशमा बजार तताएको छ । ३० भन्दा बढी देशमा विगत २ वर्षमा लाखौं युनिट क्याटलको ब्याट्री इभी गाडीमा प्रयोग भए पनि हालसम्म २ वटा घटना मात्र फेलियरको रुपमा बाहिर आएको रोयटर्सको एउटा रिपोर्टमा उल्लेख गरिएको छ । 

तर, भारतमा बनेको इभीमा चाहि आगो लाग्ने र विस्फोट नै हुने भयावह घटना कसरी भइरहेको छ त ? कारण साधारण र प्रष्ट छ–‘टाटाले इभी भन्दै उत्पादन गर्ने गाडी वास्तविक इभी होइन । उसले रिसर्च एण्ड डेभलपमेन्टमा हुने करोडौं खर्च बचाउन साबिकको डिजल प्ल्याटफर्म नै प्रयोग गरी इभीको नाममा ‘नक्कली इभी’ गाडीहरु उत्पादन गर्छ ।’ 

भारतमा क्वालिटीको ब्याट्री आयातमा निकै ठूलो कर लाग्छ । अनि, धेरै करको दायीत्वबाट उम्किन र कम लागतमा बढी नाफा लिन उसले क्याटलजस्ता विश्वस्तरीय ब्याट्रीको प्रयोग गर्दैन । 

‘अनरिकगनाइज्ड र लोअर रेटिङ भएका सस्ता ब्याट्री प्रयोग गर्छ । जसका कारण गाडी प्रयोगकर्ताले भनेजस्तो रेञ्ज नपाउने, ३० प्रतिशतजति चार्ज बाँकी छँदै गाडी एकाएक बन्द भइदिनेदेखि विस्फोटजस्ता भयावह घटनाको सामना गर्नु परिरहेको छ ।’ इभी गाडीका एक टेक्निसियन भन्छन्–‘वास्तवमा टाटाले इभीको नाममा निकै ठूलो ठगीको र्याकेट चलाएको छ । मिडियाहरुलाई प्रयोग गरेर भारतदेखि नेपालसम्म उसको ठगीधन्दा मौलाएको छ । जनता पनि चूपचाप ठगिन तयार देखिन्छन् । उसको ठगीधन्दामा नेपाल सरकारले पनि मौन लालमोहर लगाइदिएको छ।’ 

दुर्लभ परिस्थितिहरुमा लिथियम आयन ब्याट्रीहरु जडान हुने इभीहरुको डिजाइनमै त्रुटि हुँदा समेत यस्ता घटना हुन्छन् । गलत ब्याट्रीको प्रयोग र इभी बनाउने नाममा जबरजस्ती डिजाइन मोडिफाइ गर्दा ब्याट्रीहरु धेरै तातो हुन्छन् र आगो लाग्ने वा विस्फोटसम्मका घटना हुनसक्छ । 

हिस्टोरी कम्प्युटर नामको विश्व चर्चित एक अमेरिकन वेबपेजमा प्रकाशित रिपोर्टकाअनुसार इभीमा आगो लाग्नु र विस्फोट हुनु पछाडिको प्रमुख कारण नै त्रुटिपूर्ण निर्माण प्रक्रिया हो । इभी निर्माण गर्ने टाटाजस्ता कम्पनीहरुले इभीका आवश्यक मापदण्डबिना नै गाडी उत्पादन गर्दा यस्ता घटना भइरहेका छन् । 

रिपोर्टमा भनिएको छ–‘कम्पनीहरूले बजारमा आफ्नो प्रतिस्पर्धालाई हराउन उत्पादन बढाउन खोज्दा, तिनीहरूले गुणस्तरहीन भागहरू प्रयोग गर्न सक्छन् र प्रक्रियामा हतार गर्न सक्छन्, जसले उत्पादन दोषहरूको जोखिम बढाउँछ। एउटा इभी विभिन्न आन्तरिक प्रणालीहरू मिलेर बनेको हुन्छ, जसले यसको सञ्चालनहरू निर्धारण गर्दछ। ब्याट्री र मोटरजस्ता ठूला कम्पोनेन्टहरू अत्यावश्यक भए तापनि अन्य साना भागहरू, जस्तै बोल्ट र नटहरू जसले चीजहरूलाई एकसाथ प्याच गर्दछ, समान रूपमा महत्वपूर्ण छन्। यदि तिनीहरूलाई सही रूपमा राखिएको छैन भने, तिनीहरूले गम्भीर समस्याहरू निम्त्याउन सक्छन्, जसमा तपाईंको कार बम बन्नसक्छ, तपाईको ज्यानै जानसक्छ ।’

त्यही वेबपेजमा प्रकाशित विश्वचर्चित प्रविधिबेस्ड फ्रिलान्सर डेनिस मुरोकीको आर्टिकलमा भनिएको छ–‘विद्युतीय सवारी साधनहरू सामान्यतया ड्राइभ गर्न र चढ्न सुरक्षित छन्। यद्यपि, हालसालैका भारत लगायतका मुलुकमा घटेका केही घटनाहरूले गाडीको लिथियम–आयन ब्याट्रीमा रहेको विद्युतीय प्रणाली र कम्पोनेन्टहरूका कारण विस्फोट हुने र आगो लाग्ने जोखिमलाई प्रकट गर्दछ। यसका उत्पादकहरुको गम्भीर त्रुटि देखिन्छ, जसलाई तत्काल नसुधारे इभीकै बजारमा समेत ठूलो असर पर्नसक्छ ।’

नक्कली इभीमा ठगिए नेपाली
टाटाले इभीको नाममा ठगीधन्दा चलाएको देखिन्छ । उसले इभीमा प्रयोग गर्ने ब्याट्री एउटाले इम्पोर्ट गर्छ र गाडीमा एसेम्बल गरेर नेपाल पठाउँछ । 

टाटाको इभीमा गर्मीको बेला अत्यावश्यक लिक्वीड कुलिङ सिस्टम पनि छैन । जाडोयाममा गाडीको परफरमेन्स राम्रो हुनलाई हिटिङ सिस्टम पनि चाहिन्छ, टाटाको नेक्सन र टियागोमा यी कुनै पनि सिस्टम छैन । ‘कतिपयले ३० प्रतिशत ब्याट्री एकैपटक जिरोमा आयो भनिरहेका हुन्छन् नि, यसको कारण नै यही हो । टाटाको इभी गाडी प्रयोगकर्ताले मुख्य समस्या जाडोमा भोग्छन् । हिटिङ सिस्टमको अभावमा टाटाको इभी प्रयोगकर्तालाई घाडो बन्छ।’ एक विज्ञ भन्छन् ।

टाटा मोटर्स इण्डियासँग इभीको एक्सपर्टिज नै छैन । तर जुन चिजको विज्ञता छैन, त्यही चिज उनीहरुले गरिरहेका छन् । अनि त्यही कम्पनीबाट उत्पादित गाडी नेपालमा निर्वाध ‘विद्युतीय गाडी’ भनेर भएभरको छुटको लाभ लिंदै बिक्री भइरहेको छ । 

टाटाले इभीमा प्रयोग गर्ने ब्याट्री कुन कम्पनीको चलाउँछ भन्ने विषय अहिलेसम्म प्रष्ट पारेको छैन । भारतमा जुन कम्पनीको ब्याट्री प्रयोग हुन्छ, नेपाल पठाइने गाडीमा त्यो भन्दा कम गुणस्तरको कम्पनीको ब्याट्री जडान गरिन्छ । 

‘तपाईहरुले लेखेजस्तो टाटाको इभीको मुख्य समस्या भनेकै ब्याट्री म्यानेजमेन्ट सिस्टम(बिएमएस) हो । यसको बिएमएसमा निकै ठूलो समस्या छ । किनभने भारतसँग बिएमएसको विज्ञता नै छैन।’ ती विज्ञले भने–‘नेपालमा पनि धेरै मिडियाहरुमा विज्ञापनको बाढी लगाएर दुष्प्रचार गरिएको छ । इभीको नाममा भइरहेको ठगीको छानबिन हुनुपर्छ । सरकारले समेत यसमा गम्भीर ध्यान दिनुपर्छ । इभीको नाममा हुने भन्सार तथा अन्तशुल्क छुटजस्ता आर्थिक लाभका लागि समेत टाटाका गाडी भित्र्याएर सिप्रदीले फट्याईं गरिरहेको सुनिन्छ । यसमा पनि ध्यान जानुपर्छ।’

(टाटाको इभी किन ‘इभी गाडी’ होइनन् ? कारण र आधारसहितको सनसनीपूर्ण रिपोर्ट अर्को अंकमा)

यसअघि: