काठमाण्डौ । सिटिजन्स बैंकले व्यवस्थापनमा नयाँ नेतृत्व आएसँगै बैंकलाई प्रगति पथमा डोहोर्याउन महत्वपूर्ण भूमिका खेल्ने र बैंकले राखेको लक्ष्य प्राप्तिमा अहोरात्र खटिने आफ्ना चार उच्चपदस्थ कर्मचारीहरुको एकैसाथ बढुवा गर्ने निर्णय गरेको छ ।

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएसँगै गणेशराज पोखरेलले आर्थिक वर्ष २०७५/७६ मा बैंकलाई १५ प्रतिशतसम्म लाभांश वितरणयोग्य बनाउन महत्वपूर्ण भूमिका खेलेका चारैजनाको एकैसाथ बढुवाको निर्णय गरेका हुन् । 

यसरी बढुवा हुनेहरुमा  बैंकका प्रमुख कर्जा अधिकृत सुमितबाबु खत्री, प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले, प्रमुख जोखिम अधिकृत राजेन्द्रलाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उमंग शर्मा रहेका छन् । 

उनीहरु चारैजनालाई २०७६ कार्तिक १ गतेबाट लागू हुने गरी बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बैंकले जनाएको छ। 
बैंकको  स्थापनाकालदेखि नै आबद्ध चारै जनाले विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका बैंकले जनाएको छ । 

“भित्र सिस्टम र बाहिर इमेज”को नारालाई आत्मसाथ गर्दै कार्यपथमा लम्किरहेका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ क्षेत्रमा रहेको उनीहरुको लामो अनुभवले बैंकलाई थप उचाइँमा लैजाने विश्वास व्यक्त गरेका छन् ।

करिब १९ वर्षको बैंकिङ अनुभव भएका सुमितबाबु खत्रीले १५ वर्ष कर्जा विभागको विभिन्न ओहदामा रही कार्यसम्पादन गरिसकेका छन् । प्रमुख कर्जा अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका सुमितबाबु खत्रीअन्तर्गत हाल संस्थागत तथा व्यवसायिक बैंकिङ युनिट, उपभोक्ता बैंकिङ युनिट, एस. एम. ई. युनिट तथा सहवितियकरण र पूर्वाधार बैंकिङ युनिट रहेका छन्।  

१९ वर्षको बैंकिङ अनुभव भएका पारसकुमार काफ्ले विभिन्न ओहदामा रही बैंकिङ सेवा प्रवाह गरिरहेका छन् । शाखाको संचालन तथा व्यवस्थापन , निति नियमको अनुपालन , संस्थागत कर्जा तथा एस. एम. ई. कर्जा जस्तो क्षेत्रमा अब्बल काफ्ले हाल प्रमुख संचालन अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका छन् ।

करिब १९ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका राजेन्द्रलाल श्रेष्ठले विभिन्न ओहदामा रही कार्यसम्पादन गर्दै आएका छन् । शाखा संचालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्तो क्षेत्रमा उनको दक्षता रहेको छ। हाल उनी बैंकको प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत छन् ।

करिब १८ वर्षदेखि वाणिज्य बैंकमा सेवा प्रवाह गर्दै आएकी उमंग शर्माले लामो समयसम्म कर्जा विभागमा उल्लेख्य काम गरेकी छिन् । हाल उनी प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएकी छिन् । हाल उनीअन्तर्गत मानव संसाधन विभाग, सामान्य सेवा विभाग, र कर्पोरेट कम्युनिकेशन विभाग रहेका छन् । उनी बैंकको  प्रवक्ता समेत हुन् ।