काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेड र टिच फर नेपालबीच शैक्षिक गुणस्तर अभिबृद्धि कार्यक्रममा सहकार्य सम्बन्धी एक सम्झौता सम्पन्न भएको छ । 

सम्झौतापत्रमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गरे ।

टिच फर नेपालले ग्रामीण क्षेत्रमा रहेका सरकारी विद्यालयमा फेलो शिक्षकहरु खटाई शैक्षिक असमानता घटाउने कार्यमा सहयोग गर्दै आएको छ । 

हाल टिच फर नेपालले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्साको ग्रामीण क्षेत्रका ५१ विद्यालयमा ११० जना फेलो(प्रद्यार्थी) शिक्षकहरु मार्फत करिब १० हजार विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिमा कार्य गरिरहेको छ ।

संझौताअनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट टिच फर नेपाललाई वार्षिक रु. ५ लाख प्रदान गर्नेछ । 

कोषबाट टिच फर नेपालले विद्यालयहरुमा महत्वपूर्ण विषयका दक्षजनशक्तिलाई फेलो शिक्षकको रुपमा खटाउनेछ, यसरी खटाइएका फेलो शिक्षकहरु शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने कार्यमा सरिक हुनेछन् । बैंकले यस सहयोगबाट ग्रामीण क्षेत्रका विद्यालय र सहरी क्षेत्रका विद्यालयको बीचमा हुने शैक्षिक असमानता कम गर्न महत्वपूर्ण सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।