काठमाण्डौ । भारतको नयाँ अर्थ व्यवस्थामा टेलिकम र एयरपोर्टजस्ता क्षेत्रमा दुई ठूला कारोबारीको एकाधिकार स्थापित हुन गइरहेको छ।

यी दुई क्षेत्रमा मुकेश अम्बानी र गौतम अदाणीले वर्चस्व स्थापित गरिसकेका छन्। भारतीय मिडियाहरुका अनुसार आफ्नो उच्च पहुँचका कारण अदाणीले पहिले नै निजी क्षेत्रको हातमा हस्तान्तरण गरिएको मुम्बई एयरपोर्टको नियन्त्रण पनि हासिल गरिसकेका छन्। 

दुई वर्षअघि भारत सरकारले त्यहाँका साना विमानस्थलहरुमा फसेको पुँजीलाई निकाल्नका लागि निजीकरणको योजना बनाएको थियो। सबैभन्दा धेरै बोली लगाएकाले ६ वटा हवाई अड्डाहरु अदाणीको पक्षमा परेका थिए। 

दिल्ली, अहमदावाद, तिरुवनन्तपुरम, लखनउ, बैंगलुरु र जयपुरजस्ता विमानस्थलमाथि पनि ५० वर्षसम्म उनको नियन्त्रण हुनेछ। यसरी आठभन्दा धेरै भारतीय विमानस्थलमाथि अदाणीको नियन्त्रण हुनेछ। 

एयरलाइन्स, हवाईयात्री र विमानस्थलभित्र व्यापारव्यवसाय गर्नेहरुका लागि यो खबर राम्रो मानिएको छैन। भारतमा हवाई पूर्वाधारमा व्यापक ट्रेन्डका साथै शक्ति केन्द्रीकरण चिन्ताजनक विषयका रुपमा देखिएको छ। 

यसैबीच विशेषज्ञहरुले भारतमा मोनोपोली बोर्डको आवश्यकतालाई पनि रेखांकित गर्न सुरु गरिसकेका छन्। 

उता मुकेश अम्बानीलाई २०१६ मा फोरजीमा गरेको प्रवेशले टेलिकम क्षेत्रमा नयाँ उचाइ दियो। अम्बानीले विश्वको सबैभन्दा सस्तो डेटा दिएर करोडौँ प्रयोगकर्तालाई आफ्नो ग्राहक बनाए। त्यतिबेला भारतको टेलिकम क्षेत्रमा दर्जनौँ कम्पनीहरु सक्रिय थिए। 

अहिले परिस्थिति विल्कुलै फरक बनेको छ। पहिले रिलायन्स जियोको लन्चिङ र अहिले एजीआर ड्युजले परम्परागत टेलिकम कम्पनीहरुको ढाड भाँचिदिएको छ। 

टेलिकम सेवा प्रदायक अग्रणी कम्पनीहरुमध्ये भोडाफोन आइडिया अब सर्वाेच्च अदालतको निर्णयमाथि निर्भर छ कि कम्पनीले एजीआरको १.४ लाख करोड भारतीय रुपैयाँ कहिलेसम्म तिर्नुपर्नेछ। – एजेन्सी