काठमाण्डौ । विश्वका दोस्रो धनी व्यक्ति एलन मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्ला इंकका वरिष्ठ अधिकारीहरुको समूह भारत भ्रमण जाने भएका छन्। यही साता भ्रमण प्रस्तावित गरिएको छ। 

रिपोर्टअनुसार टेस्ला अधिकारीले आफ्नो भारत भ्रमणका क्रममा पीएमओसहित अन्य अधिकारीहरुसँग भेट्न सक्नेछन्। यो भ्रमणमा कम्पनीका उच्च अधिकारी र व्यवस्थापकहरु संलग्न हुने सम्भावना छ।

ब्लुमबर्गको रिपोर्टका अनुसार मस्कको कम्पनी टेस्लाले सप्लाई चेनलाई मजबुत बनाउन भारत भ्रमण गर्ने योजना बनाएको हो। टेस्लाले चीनपछि भारतमा आफ्नो बजार फैलाउन चाहेको र यसैलाई मध्यनजर गर्दै कम्पनीका अधिकारीहरु भ्रमणमा आउँदैछन्। 

टेस्लाका अधिकारीहरुले भारतमा टेस्ला मोडलका कम्पोनेन्टहरु कसरी प्राप्त गर्ने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयका प्रतिनिधि र अन्य सम्बन्धित अधिकारीसँग छलफल गर्न सक्छन्। योजनाअन्तर्गत भारत भ्रमण गर्ने अधिकारीहरु टेक्सासस्थित टेस्लाको सप्लाई चेन, उत्पादन र व्यापार विकास टोलीका सदस्य हुन्।

टेस्लाको अहिले भारतमा कुनै विशेष व्यवसाय छैन। यसअघि टेस्लाका सीईओ एलन मस्कले भारतको उच्च आयात कर र इलेक्ट्रोनिक वाहन नीतिलाई खराब भन्दै देशको विद्युतीय सवारी नीतिको आलोचना गरेका थिए। यसको जबाफमा भारतले टेस्लालाई स्पष्ट शब्दमा जबाफ दिँदै चिनियाँ कार भारतमा बेच्न नहुने जनाएको थियो। 

भारत भ्रमणमा जाने टेस्लाका अधिकारीहरुले भारतसँग टेस्ला कारमा आयात शुल्क घटाउन अनुरोध गर्न सक्ने अनुमान गरिएको छ। –एजेन्सी