काठमाण्डौ । अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले भारतमा विद्युतीय सवारी उत्पादनमा २ अर्ब डलर लगानी गर्न खोजिरहेका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार उनको यो लगानी टेस्लाले विद्युतीय कार उत्पादनमा गर्ने योजना बनाइरहेको छ । तर यसको लागि भने उसले सुरुवाती समयमै पहिलो दुई वर्षका लागि भारत सरकारले १५ प्रतिशत कर छुट दिनु पर्ने शर्त राखेको छ । 

यदि भारत सरकारले १२ हजार कार उत्पादनमा कर छूट दिएको खण्डमा ५०० मिलियन डलरभन्दा बढी  र ३० हजारभन्दा बढि कार उत्पादनमा सोही दरले छूट दिएमा भने २ बिलियन डलर लगानी गर्ने शर्तलाई उसले प्रमुखताका साथ अगाडि ल्याएको छ । त्यस्ता शर्तहरु बारे भारत सरकारले कुनै प्रतिक्रिया दिइहालेको भने छैन ।

गत जुन महिनामा भारतीय प्रधान्मन्त्री नरेन्द्र मोदीले अमेरिका भ्रमणको क्रममा टेस्ला कम्पनीका मालिक एलन मस्कलाई भेटेका थिए । त्यसो त गत अगष्ट महिनामा नै भारत सरकारले पनि विद्युतीय कारको कर नीतिमा परिमार्जन गरेको थियो ।

२० लाख भारुमाथि मूल्य पर्ने विद्युतीय कार वार्षिक पाँच लाख युनिट उत्पादन गर्ने उसको योजना छ । साथै उसको भारतमा उत्पादित बिजुली गाडी हिन्द-प्रशान्त  क्षेत्रमा निर्यात गर्ने योजना छ ।

योसँगै मस्कले भारतमा कार उत्पादनको लागि इच्छाएको पुष्टि भएको  छ। कम्पनीले यसअघि नै आफ्नो कार्यालय मुम्बईमा खोलेको छ भने प्लान्ट भने बेंगलुरुमा दर्ता गरेको छ । उसले टेस्ला इन्डिया नाममा नयाँ कम्पनी दर्ता गरेको बताइएको छ। 

टेस्लाको चीन प्लान्टबाट भने उत्पादन भइरहेको छ । चीनमा उसले नियामकीय कडाइका कारण आफ्नो प्लान्ट भारतमा प्रतिस्थापन गर्न खोजेको एजेन्सीहरुले आफ्नो समाचारमा उल्लेख गरेका छन् ।

स्थानीय कार बजारका लागि उच्च सम्भावना रहेको भारत चीन, अमेरिका र जापानपछि विश्वको चौथो ठूलो बजार हो । जहाँ गत वर्ष मात्रै करिब ३९ लाख युनिट कार बिक्री भएका थिए । -एजेन्सी