काठमाण्डौ । सरकारले अल्पकालीन अवधिका लागि आन्तरिक ऋण उठाउन ट्रेजरी बिल जारी गर्दै आएको छ। सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले यस्ता ट्रेजरी बिल जारी गर्ने गर्छ। यस्ता ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक ट्रेजरी बिल किन्न पाउँछन्।
विशेषगरी राष्ट्र बैंकले बजारमा तरलता बढी भएको खण्डमा पैसा तान्ने उद्देश्यले वा आन्तरिक ऋण उठाउन नियमित प्रक्रियाअन्तर्गत पनि ट्रेजरी बिल जारी गर्छ । ट्रेजरी बिल खासगरी २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने हुन्छन्। यस्ता ट्रजरी बिलमा राष्ट्र बैंकले बजारमा पैसाको अवस्थाअनुसार ब्याजदर निर्धारण गरेको हुन्छ।
पछिल्लो समय ट्रेजरी बिलको ब्याजदर बढेर ११.०६ प्रतिशत पुगेको छ। ट्रेजरी बिलसँगै बैंकहरुबीचको अन्तरबैंक कारोबारको ब्याजदर पनि ७ प्रतिशत पुगेको छ।
ट्रेजरी बिलको ब्याजदर ११ प्रतिशत माथि पुगेपछि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ७ प्रतिशतमा स्थायी तरलता सुविधा (एसएलएफ) लिएर उक्त रकम ट्रेजरी बिलमा लगानी गरिरहेको जानकारहरु बताउँछन्। ट्रेजरी बिलको ब्याजदर बढ्नुले आगामी दिनमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर पनि बढ्न सक्ने उनीहरु बताउँछन्।
त्यसो त बैंकिङ प्रणालीमा तरलता संकट कायमै छ। मुद्रास्फीति पनि चुलिएकै छ। यो अवस्थालाई नियन्त्रण गर्न बैंकहरुले निक्षेपको ब्याजदर बढाएर डबल डिजिटमा पुर्याएका छन्। कर्जाको ब्याजदर पनि बढेकै छ।
कोभिडको समयमा १ प्रतिशतभन्दा तल रहेको ट्रेजरी बिलको ब्याजदर हाल ११ प्रतिशतभन्दा माथि रहनुले आगामी दिनमा बैंकको ब्याजदर पनि बढ्ने वित्त जानकारहरुको तर्क छ।
पूर्वबैंकर तथा विश्लेषक अनलराज भट्टराई पनि ट्रेजरी बिलको ब्याजदर बढ्दा बैंकहरुको ब्याजदरमा बढ्ने बताउँछन्। ‘ब्याजदर बढ्दा जाँदा बिलाशिताका वस्तुको माग कम हुन जान्छ । योसँगै छोटो समयको पैसाको ब्याज बढेसँगै लामो समयको ब्याज पनि बढी हुन्छ’, उनले भने।
अहिले मनी मार्केटमा पैसा अभाव भएपछि बैंकहरुले आफ्नो ट्रेजरी बिल धितो राखेर पनि पैसा लिन सक्ने भट्टराईको भनाइ छ। ‘बैंकको ब्याजदर बढ्दा मोटरसाइकल, गाडीजस्ता बिलाशिताका वस्तुको माग कम पनि हुँदै गएको छ’, उनले भने।
अर्थशास्त्री मुक्तिबहादुर खत्री तरलता संकटबीच राष्ट्र बैंकले अहिले महँगो दरमा ट्रेजरी बिल जारी गर्नु भनेको घाटाको बजेट पूर्ति गर्न वा विकास निर्माणमा खर्च नपुगेर आन्तरिक ऋण उठाउन खोजेको पनि हुन सक्ने बताउँछन्। ‘राष्ट्र बैंकले वैदेशिक ऋण नआएकोले ट्रेजरी बिल जारी गरेको पनि हुन सक्छ’, उनले भने, ‘यो एक किसिमले नियमित प्रक्रिया पनि हो ।’
खत्री ट्रेजरी बिलको ब्याजदर बढ्नुले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बढ्छ कि बढ्दैन भन्ने कुरा राष्ट्रबैंकको नीतिगत व्यवस्थामा भर पर्ने बताउँछन्।
बजार जानकार प्रेम ओली ट्रेजरी बिलको ब्याजदर बढ्दैमा बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बढिहाल्ने सम्भावना नरहेको बताउँछन् ‘किनकि कतिपय बैंक तथा वित्तीय संस्थाहरुले नै १३ प्रतिशत मुद्दतिमा ब्याज दिइरहेका छन्’, उनले भने।
घरजग्गामा लगानी गर्ने, सेयर बजारमा लगानी गर्ने र ट्रेजरी बिलमा लगानी गर्ने लगानीकर्ता फरक–फरक हुने गरेको ओलीको तर्क छ। ‘बैंकहरुले ल्याएको डिबेन्चर नै नबिकेको अवस्था छ’, उनले भने, ‘त्यसैले ट्रेजरी बिलको ब्याजदर बढ्दैमा बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बढ्छ भन्नु अलि हतारो हुन सक्छ।’
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19