काठमाण्डौ । तपाइँले युट्युब हुने कमाइका बारेमा धेरैपटक सुन्नु भएको होला। तर, अब तपाइँ ट्विटरबाट पनि कमाउन सक्नुहुन्छ। 

ट्विटर अहिले ‘एक्स’ बनेको छ। धेरैले यस प्लेटफर्मबाट बम्पर पैसा पाइरहेका छन्। यो पैसा एक्समा देखा पर्ने विज्ञापनहरुको बदलामा प्राप्त भइरहेको छ। जसरी युट्युबले क्रिएटर्सलाई विज्ञापन कमाइबाट भुक्तानी गर्छ, अहिले एक्सले पनि त्यस्तै गरिरहेको छ।

गत हप्तादेखि ट्विटर यस्ता स्क्रिनसटले भरिएको छ, जहाँ प्रयोगकर्ताले कति कमाइ गरिरहेका छन् भन्ने बताइएको छ। मानिसहरुले स्क्रिनसटमार्फत आफ्नो ट्विटर कमाइ बताइरहेका छन्। यति धेरै कमाइ देखेर धेरै ट्विटर प्रयोगकर्ता पनि अचम्ममा परेका छन् र आफूले इन्स्टा र युट्युबभन्दा बढी कमाइ गरिरहेको बताएका छन्। 

राम्रो कुरा के हो भने त्यहाँ कमाइका लागि कुनै किसिमको भिडियो वा रिल्स बनाउनुपर्दैन। ट्विटलाई १ करोड ५० लाखभन्दा बढी पटक हेरिएको छ भने त्यसबाटै कमाइ भइरहेको हुन्छ। 

धेरै प्रयोगकर्ताले पछिल्लो तीन महिनामा आफ्नो खातामा लाखौँ रुपैयाँ प्राप्त गरेका छन्। 

यस प्लेटफर्ममा प्रयोगकर्ताले उनीहरुको ट्वीटको जबाफमा देखा पर्ने विज्ञापनका लागि भुक्तानी पाउनेछन्। एलन मस्कले पहिले नै ट्विटर (एक्स)को मनिटाइजेसन घोषणा गरिसकेका थिए। गत महिनामात्रै यस प्लेटफर्ममा हुने आम्दानी प्रयोगकर्तालाई पनि बाँडिने काम सुरु गरिएको हो।

यसअन्तर्गत कम्पनीले विज्ञापनबाट आउने पैसाको एक हिस्सा प्रयोगकर्तासँग बाँडिरहेको छ। तर, यसका लागि तपाइँले केही सर्तहरु पूरा गर्नुपर्छ। यदि तपाइँले सबै सर्तहरु पूरा गर्नुभयो भनेमात्र एक्सबाट भुक्तानी पाउनुहुनेछ। 

यस्ता छन् सर्तहरु

ट्विटर (एक्स)मा मनिटाइजेसनका लागि सबैभन्दा पहिले तपाइँसँग ब्लु सब्सक्रिप्सन हुनुपर्छ। यो सब्सक्रिप्सनअन्तर्गत, प्रयोगकर्ताले भेरिफिकेसन ब्याज पाउँछन्। यसबाहेक प्रयोगकर्ताले आफ्नो कन्टेनमा कम्तीमा १.५ करोड इम्प्रेसन हुनुपर्दछ। यी इम्प्रेसन पछिल्लो ३ महिनामा मात्र हुनुपर्छ।

यसका साथै क्रिएटरसँग ५०० फलोअर हुनुपर्छ। मनिटाइजेसन सुरु गर्दा कम्पनीले यो प्रयोगकर्ताका लागि आम्दानीको नयाँ स्रोत हुने जनाएको थियो। 

पैसा कसरी प्राप्त हुन्छ ? 

तपाइँले ट्विटर (एक्स)बाट प्राप्त गरेको पैसा दाबी गर्न पहिले मनिटाइजेसन अप्सनमा जानुपर्छ। तपाइँले साइड मेनुमा यो अप्सन पाउनुहुनेछ। त्यहाँ तपाइँले ‘ज्वाइन एन्ड सेटअप पेआउट्स’ अप्सन देख्नुहुनेछ। त्यसमा क्लिक गरेर तपाइँ स्ट्राइपमा पुग्नुहुनेछ।

स्ट्राइप एउटा भुक्तानी सेवा प्रदायक हो। यसमार्फत मात्र तपाइँले आफ्नो भुक्तानी लिन सक्नुहुनेछ। त्यहाँ प्रयोगकर्ताले आफ्नो बैंक खाता सेटअप गर्नुपर्छ। प्रयोगकर्ताले समय–समयमा आफ्नो खाताबाट पैसा निकाल्न सक्नेछन्। पैसा निकासीका लागि प्रयोगकर्ताको खातामा कम्तीमा ५० डलर हुनुपर्नेछ। –एजेन्सी