काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा कमालको प्रगति विवरण निकालेको छ । यो फाइनान्सले खूद नाफा अघिल्लो वर्षको तुलनामा करिब ५ गुणाले बढाएको हो । अघिल्लो वर्ष ३ करोडमा सीमित नाफालाई यो वर्ष १४ करोड ४७ लाखको उचाईमा पुर्याउने सफलता पाएको हो । 

व्यवसाय बिस्तारमा आक्रामक नीति लिएका कारण खूद ब्याज आम्दानी पनि अघिल्लो वर्षको तुलनामा करिब ३ गुणाले बढेको छ । अघिल्लो वर्ष ६ करोड ५२ लाखमा सीमित रहेको खूद ब्याज आम्दानी वृद्धि भई यो वर्ष १६ करोड ८३ लाखको उचाई चुमेको हो । 

यो अवधिमा यो फाइनान्स कम्पनीले १० करोड ७८ लाख संचालन मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो नाफा ४ करोड ५७ लाखमा सीमित थियो । 

फाइनान्सले यो अवधिमा ३ अर्ब ३३ करोड निक्षेप संकलन गरी २ अर्ब ८५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १ अर्ब ८१ करोड निक्षेप संकलन गरी १ अर्ब ४५ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष १० करोड ६८ लाखमा सीमित रिजर्ब कोष बढाएर यो फाइनान्सले ३० करोड ७८ लाखको बनाएको छ । 

नाफामा छलाङ मारे पनि निस्क्रिय कर्जा अनुपात भने केही बढेको छ । अघिल्लो वर्ष ०.०८ प्रतिशतमा रहेको यस्तो कर्जाको अनुपात बढेर यो वर्ष ०.२५ प्रतिशत पुुगेको हो । 

कम्पनीको प्रतिसेयर आम्दानी ४१.९१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८९.११ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२४८.९५ रुपैयाँ र मूल्य आम्दानी अनुुपात ९.१४ गुणा कायम भएको छ ।