– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिनमात्रै कारोबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने १ दिनमात्रै बढेको छ। 

अघिल्लो साता २०२९.७८ मा बन्द भएको बजार यो साता २००४.३ अंकमा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा २५.४८ अंकको गिरावट आएको छ। अघिल्लो साता बजार २२.७५ अंकले बढेको थियो। 

यो साता दोस्रो बजारमा ७ अर्ब ८० करोड रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो साता ७ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको थियो। यस हिसाबले यो साता बजारमा कारोबार र भोलुम दुवैमा बढोत्तरी आएको छ भने सूचकमा गिरावट आएको छ। 

यो साता नेप्सेको बजार पुँजीकरण ३० खर्ब ३८ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो साता बजार पुँजीकरण ३० खर्ब ७४ अर्ब रुपैयाँ थियो। यो साता ३६ अर्ब रुपैयाँले बजार पुँजीकरण घटेको छ। 

डाउ थेउरीबाट हेर्दा अहिलेको बजार कस्तो ?

करिब १८औँ शताब्दीमा चाल्र्स डाउले प्रतिपादित यो सिद्धान्तपछि सन् १९०३ मा एसए नेल्सनले चार्ल्सका विभिन्न सिद्धान्तलाई जोडेर डाउ थेउरीका रुपमा वाल स्ट्रिट जर्नलमा प्रकाशित गरेका थिए। त्यसपछि यो संसारमा डाउ थेउरीका रुपमा परिचित भएको हो। 

यो सिद्धान्तमा खासगरी ३ वटा ट्रेन्ड (अप ट्रेन्ड, डाउन ट्रेन्ड र साइडवेज मार्केट) हुने गर्छ। खासगरी डाउ थेउरीमा बजारले बनाउने हायर हाई र हायर लोका सिरिजमा मार्केट चल्ने गर्छ। यिनै आधारमा बजार अप कि डाउन भनेर नै विश्लेषकहरुले ट्रेन्ड पत्ता लगाउने हो।

यी ट्रेन्डमा पनि बजार ३ वटा फेज (एक्युमुलेसन फेज, पब्लिक पार्टिसिपेसन फेज र डिस्ट्रिब्युसन फेज) चल्ने गर्छ। सेयर बजारमा एक्युमुलेसन त्यस अवस्थामा चलेको हुन्छ जब बजारमा सबैतर्फ सेयर बजारको नै चर्चा चल्ने गर्छ र खराब समाचार आएका हुन्छन्।

पब्लिक पार्टिसिपेसन भनेको त्यो अवस्था हो, जुन समयमा भोलुम र कारोबारमा दैनिक उछाल आउने गर्छ। यस्तो बेला पत्रिका र सामाजिक सञ्जालमा बजार एक्सट्रा बुलिस बनेको समाचार आउँछन्। 

त्यसैगरी अन्तिम फेज भनेको डिस्ट्रिब्युसनको हुन्छ। यो भनेको चतुर लगानीकर्ताले सेयर बेचेर निस्किने समय हो। 

अहिलेको अवस्था कस्तो ?

ट्रेन्डको हिसाबले अहिलेको बजार डाउन ट्रेन्ड नै हो। किनकि बजारमा भर्खर हायर हाई र हायर लोका सिरिज बन्दैछन्। बजारले पछिल्लोपटक डेली टाइम फेरेममा पनि १९६० मा हायर लो कन्फर्मेसन गरेर २००० माथि टिकेको छ। फेजको हिसाबले अहिलेको बजार भनेको एक्युमुलेसनको हो। किनकि अहिले सर्वत्र सेयर बजारकै चर्चा र खराब समाचार आइरहेका छन्। 

बजारको पछिल्लो अवस्थालाई नियाल्दा केही गरी नीतिगत परिवर्तन भएको खण्डमा पनि चाडपर्वसम्म बजारमा एक्युमुलेसन नै चल्ने र मंसिर तथा पुसबाट बजारमा र्यापिड्ली इलिअट वेभको माइनरको ३ को पनि ३ वेभ चल्न सक्छ। त्यसपछि भने बजार बुम नै हुन सक्छ। 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा 

साप्ताहिक रुपमा बजारलाई बोलिंगर ब्यान्डबाट हेर्दा यो सातासहित बजार २ सातासम्म लगातार मध्य ब्यन्डमा टिकेको देखिन्छ। अघिल्लो साता १९६० सम्म गएर फर्केको बजार यो साता भने १९९५ सम्म पुगेर फर्केको छ। 

म्याक्डीमार्फत हेर्दा बजारले केही समयपहिले बियरिस क्रसओभर बनाएको थियो। जुन यो साता पनि भ्यालिड नै छ। हिस्टोग्राम नेगेटिभ र बोल्ड नै छन्। आरएसआई भने ४९ को न्युट्रल तहमा रहेको छ। सबै इन्डिकेटरमार्फत हेर्दा बजारमा यो साता केही बिक्री दबाब रहेको देखिन्छ।  

पिभट प्वइन्टका आधारमा 

पिभट प्वइन्ट निकाल्न सुरु, अधिकतम, न्यूनतम र अन्तिम ४ वटा मूल्य आवश्यक पर्छ। यी ४ वटा मूल्यलाई जोडेर निकालिएको औसत मूल्यलाई पिभट मूल्य अर्थात् विन्दु भनिन्छ। यसले बजारको प्रतिरोध र सपोर्ट खोज्न सहयोग गर्छ। 

बढेमा प्रतिरोध 

प्रतिरोध १– २०८१
प्रतिरोध २– २१७२
प्रतिरोध ३– २०८१

पिभट प्वइन्टः  २०३३

घटेमा सपोर्ट 

सपोर्ट १– १९४२
सपोर्ट २– १८९४
सपोर्ट ३– १८०३

निष्कर्ष

यो साता बजारमा २५ अंकले गिरावट आएको छ भने कारोबार बढेको छ। अहिलेको बजारलाई यदि डाउ थेउरीमार्फत नियाल्दा पछिल्लोपटक १९३० बाट फर्केको बजारले १९६० मा हायर लो कन्फर्मेसन दिएको छ। यो साता पनि २००० माथि टिकेर बजारले दीर्घकालमा अब अप ट्रेन्ड लिन थालेको बुझिन्छ। यसको  कन्फर्मेसनका लागि आगामी साता बजार २०५० भन्दा माथि टिकेर बन्द भएको खण्डमा थप प्रस्ट हुन जान्छ। 

इलिअट वेभबाट नियाल्दा माइनरको ३ वेभभित्रको १ चलेको र केही समयमा वेभ २ चल्ने र थर्डभित्रको थर्ड भने मंसिरपछि चल्न सक्ने देखिन्छ। यस हिसाबले केही समय २२०० आसपास चलेर बजारले माथिको यात्रा लिन सक्छ। 

पिभटमार्फत हेर्दा यो साता पिभट प्वइन्ट २०३३ मा प्रतिरोध सामना गरेको छ। त्यहाँबाट माथि लागेमा बजारले करिब २२०० सम्मको यात्रा दसैँअघि नै तय गर्न सक्ने देखिन्छ। पुस–माघबाट भने अहिलेको २२०० को प्रतिरोध ब्रेक गरेर बजार माथि लाग्न सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।