– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार घट्यो  भने १ दिनमात्रै बढेको छ। 

अघिल्लो साता १९३४.४८  मा बन्द भएको बजार यो साता १९०४.४ मा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा ३०.०८ अंकले गिरावट आएको छ। अघिल्लो साता भने दोस्रो बजारमा ६७.६९ अंकको बढोत्तरी भएको थियो। 

यो साता दोस्रो बजारमा ५ दिनको कारोबारमा ४  अर्ब ३७ करोड रुपैयाँबराबर कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता ६ अर्ब ५२  करोड रुपैयाँको भएको थियो। यस हिसाबले अघिल्लो साताको तुलानामा यो साता कारोबार र सूचक दुवैमा गिरावट आएको छ।

डाउ थेउरीका आधारमा 

पछिल्लोपटक करिब २२७५ बाट खसेको बजारले निरन्तर रुपमा डाउ थेउरीअन्तर्गत लोअर लो र लोवर हाई बनाउँदै तल झरेको देखिन्छ। पछिल्लोपटकको उच्च विन्दु २२७५ बाट खसेपछि अघिल्लो साता बजारले हायर हाई बनाएको थियो भने यो साता हायर लो बनाएर बन्द भएको छ। तर, हायर लो यही नै हो भनेर यो साता कन्फर्मेसन भने हुन सकेन। 

यदि यो साता १९९० अर्थात २००० भन्दा माथि बन्द भएको भए बजार बुल ट्रेन्डमा गयो र यही नै हायर लो बन्यो भनेर सुनिश्चित गर्न सकिन्थ्यो। तर, बजार १९०० आसपासमा नै बन्द भएकोले हायर लो बनेको मात्रै भन्न सकिन्छ। यसको कन्फर्मेसनका लागि भने बजारलाई अझै आगामी साता पनि नियाल्नु पर्ने देखिन्छ। 

यदि आगामी साता १८९० भन्दा तल झरेमा बजारले नयाँ लोवर लो बनाउन झरेको भन्न सकिन्छ। अन्यथा डाउ थेउरीमार्फत हेर्दा बजारमा अप ट्रेन्डको सम्भावना जीवित नै रहेको छ। 

भोलुममार्फत हेर्दा पनि यो साता बजार ५ दिन कारोबार भएकोमा ५ दिन नै १ अर्ब तल कारोबार भएको छ। दैनिक एभरेज भोलुम भनेको करिब ८७ करोड रुपैयाँमात्रै देखिन्छ। यो भनेको भोलुम निकै ड्राई अप भएको मान्न सकिन्छ। 

भोलुम र प्राइस एक्सनमार्फत संयुक्त रुपमा हेर्दा आगामी साता बजारले हायर लो कन्फर्मेसन गर्ने र बजार १८९० आसपास माथिबाटै फर्किन सक्न सम्भावना पनि उत्तिकै देखिन्छ। भलै बजारमा  अन्य कुनै थप खराब समाचार नआएको खण्डमा। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

इचिमोकुका आधारमा 

इचिमोकुमार्फत हेर्दा बजार बियरिस नै रहेको देखिन्छ। क्लाउडको पोजिसनभन्दा तल–तल मूल्य रेखाहरु चलेको अवस्था छ। क्लाउडको रङ पनि हरियोबाट रातो भएका छन्। 

इचिमोकुमा खासगरी ६ वटा स्टेपले बजार बुलिस तथा बियरिस भनेर छुट्याउन सकिन्छ। केही समयपहिले बेस लाइनलाई कन्भर्जन लाइनले तलबाट काटेको अवस्था थियो तर फेरि माथिबाटै काटेको अवस्था रहेको छ। 

इचिमोकुमार्फत पनि बजार बियरिस नै रहेका देखिन्छ। 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा 

बजारलाई साप्ताहिक रुपमा बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाहरु मध्य ब्यान्डबाट तल झरेका छन् तर, तल्लो विन्दुलाई छोएको अवस्था भने छैन। 
म्याक्डीमार्फत हेर्दा बियरिस क्रसओभर बनेको देखिन्छ भने हिस्टोग्राम नेगेटिभ बनेका छन्। 

साप्ताहिक चार्टमै  आरएसआई भने ६२ को तहबाट खसेर हाल ४२ को तहमा पुगेको छ। यसले आरएसआई एकपटक ओभर सोल्ड नजिक आउन सक्ने देखिन्छ। 

पिभटका आधारमा

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– १९९९
  • प्रतिरोध २– २०६५
  • प्रतिरोध ३– २१४८

पिभट प्वइन्टः  १९१६

घटेमा सपोर्ट 

  • सपोर्ट १– १८५१ 
  • सपोर्ट २– १७६७
  • सपोर्ट ३– १७०२

निष्कर्ष

यो साता सेयर बजारमा करिब ३० अंकको गिरावट आएको छ भने कारोबार पनि अघिल्लो साताको तुलनामा करिब २ अर्बभन्दा बढीले घटेको छ। यस हिसाबले दोस्रो बजारमा यो साता कारोबार र सूचक दुवैमा गिरावट आएको छ। 

प्राविधिक रुपमा यो साताको बजारलाई डाउ थेउरीमार्फत नियाल्दा हायर लो बनाउँदै गरेको भन्न सकिन्छ। तर, यसको कन्फर्मेसनका लागि भने आगामी साताको बजारलाई नियाल्नुपर्ने हुन्छ। 

हालको बजारमा लगानीको हिसाबले भन्नुपर्दा अल्पकालीन ट्रेडका लागि भने अहिले नै सेटअप बनिहालेको अवस्था भने देखिँदैन। तर, दीर्घकालीन हिसाबले लगानी भने गर्न सकिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।