– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्पादन तथा प्रशोधन समूहमा सूचीकृत शिवम सिमेन्ट सन् २००३ मा स्थापना भएको कम्पनी हो। यो कम्पनीले सन् २०११ बाट उत्पादन सुरु गरेको थियो। 

कम्पनीले सर्वसाधारणका लागि सन् २०१५ मा आईपीओ निष्कासन गरेको थियो। कम्पनीले चुक्तापुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई र २ प्रतिशत सेयर स्थानीयलाई गरी कुल ५२ लाख ८० हजार कित्ता सेयर बिक्री गरेको थियो। कम्पनीले आफ्नो पुँजीको ३० प्रतिशत होङ्सी सिमेन्टमा लगानी गरेको छ।

नेपालमै सबैभन्दा ठूलो ग्रिनफिल्ड प्रोजेक्टका रुपमा रहेको यो कम्पनीले ४३ र ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। 

आधारभूत पक्ष

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँभन्दा बढी रहेको छ। कम्पनीको जगेडा कोष ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँबराबर रहेको छ। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १४.९६ रुपैयाँ रहेको छ। अघिल्लो  वर्ष सोही अवधिमा कम्पनीको ईपीएस १९.४२ रुपैयाँ रहेको थियो। हाल कम्पनी प्रतिसेयर नेटवर्थ २०६.८५ रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर नेटवर्थ २०३.५९ रुपैयाँ रहेको थियो। प्रतिसेयर कुल सम्पत्ति २९१.४६ रुपैयाँ रहेको कम्पनीको रिटर्न अन इक्विटी ९.५४ प्रतिशत रहेको छ। अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयर प्रतिकित्ता ४४० रुपैयाँ कायम भएको छ। 

कम्पनीको ४ वर्षको वार्षिक औसत नगद लाभांश २२ प्रतिशत रहेको छ।

प्राविधिक पक्ष

फियर एन्ड ग्रिड मिटरका आधारमा

फियर एन्ड ग्रिड मिटरका आधारमा यो कम्पनी लामो समयदेखि बियरिस सेन्टिमेन्टमा रहेको छ। कम्पनीको ५२ साताको उच्च मूल्य १२५१ रुपैयाँ र न्यून मूल्य ४४० रुपैयाँ रहेको छ। कम्पनीको न्यून मूल्य र अन्तिम मूल्यबराबर हुनुले कम्पनीको मूल्य तल्लो विन्दुमा आएको देखिन्छ। 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा  

बोलिंगर ब्यान्डमार्फत हेर्दा यो कम्पनीको सेयरमूल्य सन् २०२२ को जनवरीदेखि करिब १५ महिना निरन्तर घटेको छ। (हेर्नुहोस् रातो एरो)

साप्ताहिक चार्टमा नै हेर्दा यो कम्पनीको सेयरमूल्यले २०२२ कै फेब्रुअरीमा बोलिंगरको मध्य ब्यान्ड छोडेर तल झरेको छ। त्यसपछि कम्पनीको मूल्यरेखाले तीनपटक मध्य ब्यान्डबाट माथि आउन खोजेको तर नसकेको अवस्था देखिन्छ। 

साप्ताहिक चार्टमै म्याक्डीमार्फत हेर्दा हिस्टोग्राम सकारात्मक रहेका छन् तर छोटा–छोटा हुँदै गएका छन्। एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काट्न खोजेको अवस्था देखिन्छ। आरएसआईमार्फत हेर्दा हाल ओभर सोल्ड जोन ३० तल रहेको छ। 

समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा यो कम्पनीको सेयरमूल्यमा अझै केही अंकको गिरावट आएको देखिन्छ। 

सुपर ट्रेन्डका आधारमा 

सुपर ट्रेन्डका आधारमा हेर्दा यो कम्पनीको सेयरमूल्य करिब १५ महिना पहिलेदेखि नै बिक्रीचाप परेको देखिन्छ। सुपर ट्रेन्डमा यदि मूल्यरेखाहरुले ट्रेन्ड लाइनलाई माथिबाट काटेर तल झरेको देखिन्छ। त्यसपछि माथि जान सकेको अवस्था देखिँदैन। 

पिभट विश्लेषण 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। यस आधारमा शिवम सिमेन्टको उतारचढावलाई हेर्दा यो पिभट प्वइन्टभन्दा तल झरेको देखिन्छ । 

बढेमा प्रतिरोध 

प्रतिरोध १– ५३९
प्रतिरोध २– ५७८
प्रतिरोध ३– ६०१

पिभट प्वइन्टः  ५११

घटेमा सपोर्ट 

सपोर्ट १– ४६७
सपोर्ट २– ४४४
सपोर्ट ३– ४००

निष्कर्ष

आधारभूत रुपमा यो कम्पनी बलियो नै देखिन्छ। लगभग चुक्तापुँजीकै हाराहारीमा रिजर्भ रहेको छ। तर, पनि सतप्रतिशत सेयर सर्वसाधारणमा परिणत भएपछि आपूर्तिका कारण साथै घट्दो बजारका कारण यो कम्पनीको सयर एकै वर्षमा तीनगुणा घटेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको मूल्य १२५१ रुपैयाँ देखिन्छ। गएको बुलमा यो कम्पनीको सेयरभाउ भने १८८३ रुपैयाँसम्म पुगेको थियो। आज ४४० रुपैयाँमा बन्द भएको छ। 

प्राविधिक रुपमा यो कम्पनीको सेयरको हालको उतारचढावलाई हेर्दा पिभट प्वइन्टको दोस्रो सपोर्टबाट पनि तल झरेको छ। अबको तेस्रो सपोर्ट भनेको करिब ४०० रुपैयाँमा हुन आउने देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।