काठमाण्डौ । नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले अब बैंक ब्याजदर घट्ने दाबी गरेका छन् । 

उनले मौद्रिक नीतिमार्फत नेपाल राष्टबैंकले गरेका केही व्यवस्थाका कारण बैंकहरुको ब्याज खर्च घट्ने र यसको प्रतिफल स्वरुप समग्र बैंक ब्याजदर समेत घट्ने दाबी गरेका हुन् । 

हाल निक्षेपको ब्याजदर स्थिर रहेको र कर्जाको ब्याजदर समेत गत वर्षको भन्दा केही घटेको दाबी गर्दै उनले मौद्रिक नीतिले ब्याजदरलाई स्थायीत्व दिन खोजेको र अझै घटाउने प्रयत्न गरेको समेत बताए । 

‘यो कुरालाई तपाईले कताबाट बुझ्नुपर्छ भने हामीले मौद्रिक नीति सार्वजनिक गरिरहँदा ४ प्रतिशतमा दिइने पुनरकर्जालाई ३ मा झारेका छो । अनि बैंकहरुले लगानी ८ प्रतिशतमा लगानी गर्ने ७ मा तथा १० लाखसम्मको एसएमई कर्जालाई १० बाट ७ प्रतिशतमा झारेका छौ । यसले पनि ब्याजदरमा सुधार हुन्छ ।’ उनले थपे–‘राष्ट्रबैंकबाट लिने पुनरकर्जामा ब्याजदर घटेको छ भने बैंकले लगानी गर्ने निश्चित शीर्षकका कर्जाहरुमा पनि घटेको छ । १५ लाखसम्मको कृषि उद्यम कर्जामा २ प्रतिशत भन्दा बढी बेस रेट लिन नपाइने र अन्य सेवा शुल्क लिन नपाइने जस्ता व्यवस्थाले पनि बैंकहरुको कुल ब्याजमा आउने खर्च घट्छ, यसकारण ब्याजदर अब घट्छ ।’

उनले नेपाल सरकारको बजेटले राखेको लक्ष्य, १५ औं योजना, अन्तराष्ट्रिय परिवेश, बैंकिङ क्षेत्रको वर्तमान परिस्थितिलाई मध्यनजर गरी मौद्रिक नीति ल्याइएकोले बजेटमार्फत राखिएको आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुने दाबी समेत गरे ।