काठमाण्डौ । नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत गरिएका कतिपय व्यवस्थाहरुका कारण बैंक ब्याजदर घट्ने दाबी गरेका छन् ।
राजधानीमा बिहीबार आयोजित कार्यक्रममा उनले आफ्नो विश्लेषण प्रस्तुत गर्दै यस्तो दाबी गरे । विश्लेषणको सुरुवातमा मौद्रिक नीतिका कारण ब्याजदर घट्छ भन्ने दाबी गरेका उनले फेरि बैंकहरुको पक्षमा विचार राख्ने क्रममा व्यवसायीले भनेजस्तो ब्याजदर नघट्ने भन्दै तत्काल बैंक ब्याजदर घट्ने गुञ्जाइस नरहेको ठोकुवा समेत गर्न भ्याए ।
डेपुटी गभर्नरको ब्याजदर सम्बन्धी गोलमटोल विश्लेषणले कार्यक्रममा सहभागी भने रनभूल्ल देखिए ।
डेपुटी गभर्नर शिवाकोटीले मौद्रिक नीतिले मूल्य स्थायीत्वका लागि महत्वपूर्ण कदम चालेको भन्दै आफ्नो विश्लेषणको सुरुवात गरेका थिए । उनले पुनरकर्जाको दरमा कटौति भएको भन्दै व्यक्तिगत पुनरकर्जाको दर ८ बाट ७ प्रतिशतमा झर्ने बताए । अल्पकालीन ब्याजदरलाई बाञ्छित सीमाभित्र राख्ने प्रयास गरिएको दाबी गर्दै उनले विभिन्न व्यवस्थाका कारण सुरुमा सर्टटर्म ब्याजदर कम हुने बताए । ‘पहिला सर्टटर्म ब्याजदर कम हुन्छ, त्यसपछि त्यसको प्रभाव अरु कर्जामा पनि पर्छ । मौद्रिक नीतिमा गरिएका ब्याजदर करिडर, रिपो रेट कटौति लगायतको व्यवस्थाले क्रमशः सुधार हुन्छ भन्ने हाम्रो बुझाई हो ।’ उनले भने–‘पुनरकर्जा दर घटाइएका कारणले समेत ब्याजदर घट्ने विश्वास गर्न सकिन्छ ।’
सुरुवातमा ब्याजदर घट्ने विषयमा निकै आत्माविश्वासका साथ प्रस्तुत भएका उनले स्प्रेडको विषयमा भएको नयाँ व्यवस्थाको ब्याख्या गर्ने क्रममा भने आफ्नै अघिल्लो भनाईलाई खण्डन गर्ने काम गरेका थिए । ‘४.४ प्रतिशत स्प्रेड कायम गर्ने कुरा गरेका छौ । हामी यतिमा मात्र सीमित हुन खोजेका होइनौ, बिस्तारै अन्तराष्ट्रिय मापदण्ड बमोजिमको रेटमा जानेछौ ।’ उनले भने–‘स्प्रेडलाई हामीले अहिले नै झ्याप्पै घटाएर ३ प्रतिशतमा झार्न सक्दैनौ । बैंकहरुलाई पनि त बचाउनुपर्यो नि । तपाईहरु(व्यवसायी)ले भनेजस्तो भरसक बेसरेटमै कर्जा दिने व्यवस्था भए त झनै राम्रो हुन्थ्यो नि ।’
जापान, अमेरिका र यूरोपको जस्तो मौद्रिक नीति नेपालमा अपेक्षा नगर्न व्यवसायी र व्यापारीलाई आग्रह गरेका उनले भने–‘नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीतिमा आर्थिक वर्ष ०७७/७८ को अन्तसम्ममा बैंकको स्प्रेड रेट ४.४ पुरयाउनुपर्ने भन्ने कुरा लेखिएको रहेछ । हामीले त्यही नीतिसँग म्याच गराउन मौद्रिक नीतिमा पनि त्यही व्यवस्था गरेका हौ ।’
उनले जसले जे–जे भने पनि बैंकहरुको ब्याजदर तत्कालन नघट्ने दाबी समेत गर्न भ्याए ।‘हिजोको व्यवस्था अनुसार बैंकहरुले लगानी गरेका छन्, तत्काल ब्याजदर घट्दैन ।’ आफ्नै कुरा खण्डन गर्दै शिवाकोटीले भने–‘बैंकहरुले त्यो गर्न सक्दैनन् । त्यसकारण हामीले मौद्रिक नीति बनाइरहँदा केही व्यवसायी वर्गका लागि सम्बोधन गर्ने हो, केही बैंकहरुका लागि सम्बोधन गर्ने हो, सबैको विन विनको कुरा गर्ने हो ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19