काठमाण्डौ । मिथिला लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

यो बैंकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो माइक्रोफाइनान्स कम्पनीको कात्तिक १० गतेको संचालक समितिको बैठकले बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरणको निर्णय गरेको हो । यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

यो कम्पनीले ढिलो गरी संचालक समितिको निर्णय जानकारी गराएको भन्दै नेपाल स्टक एक्सचेञ्जले कारोबार निलम्बन गरेको छ । कारोबार निलम्बन गरी मिथिला लघुवित्त विकास बैंकलाई स्पष्टीकरण सोधिएको नेप्सेका एक अधिकारीले बताएका छन् । 

पछिल्लो समय केही कम्पनीहरुले बोनस सेयर वितरणको निर्णय गरेको निकै दिनपछि मात्र जानकारी गराउने प्रवृति मौलाएको छ । यसअघि सिर्जना फाइनान्सले पनि यस्तै काम गरेको थियो । सो फाइनान्सलाई पनि स्पष्टीकरण सोधी सेयर कारोबार निलम्बन गरिएको थियो ।