काठमाण्डौ । जलवायु परिवर्तनसँगै पर्यावरणमा परेको असर तथा तीव्रगतिमा भइरहेको वन विनाशजस्ता विविध कारणले विश्व वातावरण प्रदूषणको चपेटामा परिरहेको छ ।

नेपालमै भन्ने हो भने पनि बढ्दो जनसंख्याका कारण निम्तिरहेको वन विनाश, सवारीसाधन र कारखानाको चाप आदिले बाहिर हिँड्न सकिने अवस्था सिर्जना भइरहेको छ । धुँवाधुलो र स्वच्छ हावाको अभावमा दैनिक लाखौँ मानिस प्रभावित भइरहेका छन् । तर प्रदूषण नियन्त्रण र वैकल्पिक उपायका बारेमा हालसम्म कुनै पनि निकायले खासै पहल गरेको देखिँदैन ।

यस्तो अवस्था रहेको मेक्सिकोमा भने इन्जिनियरहरुले नयाँ उपाय अवलम्बन गरेका छन् । सवारीसाधन, कलकारखाना र ज्वालामुखी आदिबाट निस्किने धुँवाधुलोले मेक्सिको पनि नराम्ररी प्रभावित भइरहेको छ । त्यहाँका मानिसहरु बाहिर निस्केर खुलेर श्वास लिन सकिरहेका छैनन् ।

यस्तो नाजुक अवस्था आएपछि मेक्सिकोका इन्जिनियरहरुले रोबोटिक रुख बनाएका छन् । बायोमिटेक कम्पनीद्वारा बनाइएको यो रुखको नाम ‘बायोअर्बन रोबोटिक ट्री’ दिइएको छ ।

प्रोटोटाइप मोडलअनुसार तयार पारिएको यो आर्टिफिसियल रुख वास्तविक रुखजस्तै काम गर्छ ।

यसले वायुमण्डबाट प्रदूषित हावाको अवशोषित गरेर सफा हावा छोड्छ । यसले विशेषगरी ज्येष्ठ नागरिक, साइकलयात्री र पैदलयात्रीलाई स्वच्छ र स्वस्थग वातावरण दिन मद्दतगार साबित हुने अपेक्षा लिइएको छ ।

यो बायोअर्बन रोबोटिक ट्रीमा यस्तो विशेष प्रणाली जडान गरिएको छ, जसले प्रदूषित हावालाई अवशोषित गरेर प्रविधिको प्रयोगबाट हावालाई सफा गरेर पुनः वातावरणमा छोडिदिन्छ । यो रोबोटिक रुखले वास्तविक रुखजस्तै काम गर्छ । यसले दिनहुँ २ हजार ८९० मानिसका लागि शुद्ध हावा तयार पार्ने क्षमता राखेको छ ।

करिब १४ फिट अग्लो यो रुखको स्ट्रक्चर पूरै फलामले बनेको छ । यो विशेषगरी ल्याबमा तयार गरिएको माइक्रो एलगीको मद्दतले दूषित हावालाई सफा गर्छ र ३६५ दिन फोटोथिन्सेसिस प्रक्रियाको मद्दतले सफा र स्वच्छ हावा आसपासमा छोड्द छ ।

यो रोबोटिक रुख तयार पार्ने इन्जिनियहरुका अनुसार यो एउटा रुखले कुल ३६८ वास्तविक रुखबराबर काम गर्न सक्छ । उनीहरु भन्छन्, ‘यी रोबोटिक रुखमा थुप्रै खुबीहरु छन् तर यस्ता रोबोटिक रुख वास्तविक रुखलाई प्रतिस्थापन गर्न नभई तिनलाई मद्दत गर्न डिजाइन गरिएको हो ।’

यस्ता रोबोटिक रुखलाई विशेषगरी त्यस्तो क्षेत्रमा जडान गरिनेछ जहाँ पैदलयात्री, साइकलयात्र र सार्वजनिक सवारीसाधनको संख्या निकै धेरै हुन्छ । यो रोबोटिक रुख मेक्सिकोको न्युबेला सहरमा पहिलोपटक जडान गरिएको छ । यो प्रोजेक्टको सम्भावित लागत लगभग ३५ लाख रुपैयाँ हुन आउँछ । –एजेन्सी