– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सरकारले पुँजीगत खर्च बढेको दाबी गर्दैगर्दा तरलतामा भने दबाब नै रहेको देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार प्रवक्ता गुणाकर भट्टका हाल बैंकिङ प्रणालीमा १५ अर्ब रुपैयाँमात्रै अधिक तरलता रहेको छ। ‘यो तरलताले हाल कुनै अर्थ राख्दैन’, उनले भने, ‘किनकि बैंक तथा वित्तीय क्षेत्रले अहिलेसम्म पटक–पटक स्थायी तरलता सुविधामार्फत ३६ खर्ब रुपैयाँ लगिसकेका छन्। यही पैसाले बजारमा तरलता केही सहज बनेको छ।’
हाल डलर सञ्चिती पनि कम रहेको प्रवक्ता भट्टले बताए। ‘डलर सञ्चिती हाल ६.८ महिनालाई मात्रै पुग्ने रहेको छ’, उनले भने, ‘जसका कारण डलर सञ्चितीमा दबाब परेको छ।’
यस्तो सञ्चिती गत वर्ष यही अवधिमा १५ महिनाका लागि पुग्ने थियो। राष्ट्र बैंकले केही समयपहिला डलर सञ्चिती बढाउन भन्दै विलासिताका वस्तुमा कडाइ गरेको थियो।
ब्यालेन्स अफ पेमेन्ट हाल १ खर्ब ९५ अर्ब रुपैयाँले घाटामा रहेको पनि भट्टले जानकारी दिए।
रेमिट्यान्स पनि हाल घटेको प्रवक्ता भट्टको भनाइ छ। ‘केही अनौपचारिक क्षेत्र मौलाउँदा रेमिट्यान्स घटेको हुन सक्छ’, उनले भने।
बैंकको ब्याजदर परिवर्तन गर्नुपर्ने अवस्था नरहेको भट्टले बताए। ‘हालको नियमले नै बजारमा ब्याजदरलाई स्थायित्व दिएको छ’, उनले भने।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघ २३ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ९०.२७ प्रतिशत र अन्तरबैंकिङ ब्याजदर ४.९८ प्रतिशत रहेको छ।
माघ २३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ। यो अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा परिचालन ४६ खर्ब ७२ अर्ब रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19