काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रणालीमा अधिक तरलता हुनु सहजताको संकेत रहेको उल्लेख गर्दै नअत्तालिई यसलाई अवसरमा रुपान्तरण गर्न बैंकका सीइओहरुलाई निर्देशन दिएका छन् । 

राष्ट्रबैंकले जारी गर्न लागेको एकीकृत निर्देशनअघि वाणिज्य बैंक, विकास बैंक र बित्त कम्पनीका सीइओहरुसँग भर्चुअल छलफल गरेका गभर्नर अधिकारीले अधिक तरलता सहजताको सूचक रहेको उल्लेख गर्दै नआत्तिन आग्रह गरेका हुन् । 

'तरलतालाई लचकता र सहजताको रुपमा लिनुहोस्, यसलाई अप्ठ्यारो रुपमा लिनुभएन । कल्पना गर्नुहोस् कोभिडको बेला यदि तरलता नभएको भए डामाडोल अवस्था आउथ्यो नि ।' उनले थपे-'दक्षिण एशियामै हाम्रो फाइनान्सियल इण्डीकेटरहरु राम्रा छन् । हाम्रो उद्योगको निक्षेप नै जीडीपी बराबर छ, यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।' 

उनले अहिले बैंकहरुसँग अधिक तरलता रहेको र भोलिका दिनमा राम्रोसँग लगानी बढाउन सकिने अवसर रहेको उल्लेख गर्दै पहाडी जिल्लाहरुमा विकास निर्माणका काम भइरहेका र त्यस्ता क्षेत्रहरुमा कर्जा प्रवाहका लागि बैंकहरुले गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका थिए । 

सो क्रममा उनले अधिक तरलता भई ब्याजदर तल झरेको अवस्थामा बैंकहरुले आफू नजिकका र चिनेजानेका ठूलाहरुको मात्र हित हुने गरी काम गर्न नहुने र अहिलेको बेलामा साना ऋणिहरुले पनि फाइदा लिनसक्ने अवस्था बन्नुपर्नेमा जोड दिएका थिए । अनावश्यक ठाउँमा कर्जा नजाओस् भन्ने आग्रह गर्दै गभर्नर अधिकारीले थपे-'यस्तो बेलामा कर्जाको दुरुपयोग धेरै हुनसक्छ । यसलाई रोक्ने काम गर्नुहोला ।' 

उद्योग कलकारखानालाई सर्भाइभ हुने अवस्था बैंकहरुले बनाइदिएका भन्दै अधिकारीले खुशी प्रकट गरेका थिए । 'तपाईहरुको योगदान महत्वपूर्ण र विशेष छ ।' सम्बोधनको क्रममा उनले भनेका थिए-'यस्तो विषम परिस्थितिमा पनि बैंकिङ सेक्टरले मानिसहरुमा उर्जा दिएको छ, आशा देखाइदिएको छ ।'

गभर्नरले आफ्नो सम्बोधनको क्रममा २ दिनअघि अर्थमन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्रीसँगको छलफलमा उद्योगी व्यवसायीले बैंकहरुप्रति राखेका गुनासाको प्रसंग समेत उठाएका थिए । 'शाखा सबै खोलिदिए हुन्छ, बैंकहरुले पुनरकर्जाको निवेदन नै लिंदैनन् भन्ने गुनासो प्रधानमन्त्री ज्यूलाई निजी क्षेत्रका साथीहरुले गर्नुभयो । उहाँहरुले पुनरसरचना र पुनरतालिकीकरणमा लचिलो भइदिनुपर्यो भन्ने अनुरोध समेत गर्नुभयो ।' प्रमसँगको छलफलमा भएको कुराकानी बैंकरहरुलाई सुनाउँदै गभर्नर अधिकारीले थपे-'वर्किङ क्यापिटलको कुरामा राष्ट्रबैंक सहज बनिदिनुपर्यो भन्ने डिमाण्ड पनि व्यापारीको रहेछ ।' 

छलफलका क्रममा प्रधानमन्त्री तथा अर्थमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका प्रतिनिधिहरुलाई कुनै पनि उद्योगी व्यवसायीलाई धराशायी बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका कुरा पनि गभर्नरले बैंकरहरुलाई सुनाए थिए । 

एकघण्टा चलेको छलफलमा नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ र नेपाल बित्त कम्पनी संघका अध्यक्षले बैंकिङ क्षेत्रको समस्याहरु राख्ने काम गरेका थिए । 

सो क्रममा बैंकरहरुले पनि आफ्ना माग र गुनासाहरु राखेका थिए । वाचलिस्टको व्यवस्थामा राष्ट्रबैंक केही लचिलो बनिदिनुपर्ने, सरकारले बण्ड निकालेर भए पनि बैंकमा थुप्रिएको रकम लगानी हुने वातावरण बनाइदिनुपर्ने, कर्जाको पुनरसंरचना र पुनरतालिकीकरणको पाटो बैंकहरुलाई नै जिम्मा दिनुपर्ने लगायतका माग राखेका थिए । 

पुराना लोनहरुको रिकभरि एकदमै गाह्रो भइरहेको, सहुलियतपूर्ण कर्जा प्रवाह सम्बन्धी व्यवस्था पनि ब्यूरोक्रेटिक खालको भएको, बैंकको आम्दानीका अधिकांश स्रोतहरु बन्द गरिएका, स्प्रेड दर ४.४ प्रतिशत मात्र कायम रहेको अवस्था र ठूलो रकम प्रोभिजनमा राख्नुपर्दा बैंकहरुको प्रोफिट्याबिलिटी घटेको भन्दै यस्ता व्यवस्थामा पुनरविचार गरिदिन बैंकरहरुले आग्रह गरेका थिए । 

बैंकरहरुलाई सम्झाउँदै गभर्नर अधिकारीले बैंकहरुबीच फाइल खोसाखोस भएको जानकारी आफूहरुलाई पनि रहेको भन्दै अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरेका थिए । अहिले नाफाको पछाडि कुद्ने बेला नभएको उल्लेख गर्दै उनले थपे-'यो बेला तपाई हामी सबैले मिलेर काम गर्ने बेला हो । बाँच्ने र बचाउने बेला हो ।' 

सो छलफलमा गभर्नर अधिकारीले व्यक्तिगत टर्म लोन दिंदा सुरुमै रेट फिक्स्ड गर्न पाउँछु भन्ने व्यवस्था हुन लागेको जानकारी दिएका थिए । १ वर्षभन्दा लामो अवधिको लोनको रेट सुरुमै फिक्स्ड गर्न पाइने वा फ्लोटिङ रेट राख्छु भन्न पनि पाइने गरी नयाँ व्यवस्था हुन लागेको जानकारी दिएका थए । 

सो क्रममा अधिकारीले एकीकृत निर्देशन आजै साँझसम्म आउने बताएका थिए ।