काठमाण्डौ । बुटवलको रुपन्देहीमा मुख्य कार्यालय रहेको तिनाउ विकास बैंकले नाफामा सामान्य प्रगति गरेको छ । 

आर्थिक वर्ष २०७३/७४ मा यो विकास बैंकले ९ करोड ६७ लाख खूद नाफा कमाएको हो । अघिल्लो वर्ष यसको नाफा ८ करोड १ लाख थियो । 

बैंकले व्यवसाय वृद्धि गरेका कारण खूद ब्याज आम्दानीमा राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष १३ करोड ३७ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी यो वर्ष बढेर २० करोड ५८ लाखको उचाईमा पुुगेको छ । 

९ करोड १६ लाखमा सीमित संचालन मुनाफालाई बढाएर बैंकले १४ करोड ३० लाखको उचाईमा पुर्याएको छ । 

बैंकले यो अवधिमा ३ अर्ब ८९ करोड निक्षेप संकलन गरी ३ अर्ब २४ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ३ अर्ब २८ करोड निक्षेप संकलन गरी २ अर्ब ७२ करोड कर्जा प्रवाह गरेको थियो । 

बैंकको नाफामा सामान्य प्रगतिसँगै निस्क्रिय कर्जाको दर समेत बढेको छ । अघिल्लो वर्ष ०.०६ प्रतिशतमा सीमित निस्क्रिय कर्जा यो वर्ष बढेर ०.७५ प्रतिशत पुुगेको छ । 

बैंकको वार्षिक प्रति सेयर आम्दानी २१ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३१.३२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.६८ गुणा र प्रति सेयर कुल सम्पत्तिको मूल्य १०१३.८६ रुपैयाँ कायम भएको छ ।