काठमाण्डौ  । तिनाउ विकास बैंकले मंगलबारदेखि ११ लाख ९४ कित्ता हकप्रद बिक्रीका लागि निश्कासन गरेको छ ।

एकसय रुपैयाँ अंकित मूल्यको सेयरमा आगामी जेठ २२ गतेसम्म सेयरधनीले आवेदन दिनसक्नेछन् । यो बैंकले हाल कायम चुक्तापुँजीको ३५ प्रतिशत हकप्रद निश्कासन गर्न लागेको हो ।

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल  लिमीटेड रहेको छ । यो बैंकको हकप्रदका लागि बैशाख ६ गतेलाई बुक क्लोजको मिति तोकिएको थियो ।

यसको अर्थ बैशाख ५ गतेसम्म बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् । इच्छुक सेयरधनीले सिद्धार्थ क्यापिटलको मुख्य कार्यालय, सिद्धार्थ बैंकका शाखा कार्यालय र तिनाउ विकास बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिनसक्नेछन् ।

यो बैंकले अघिल्लो आर्थिक वर्षको खुद नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस वितरण गरेको थियो । बोनसपछि यो बैंकको चुक्तापुँजी ३४ करोड १३ लाख पुग्ने र त्यसपछि जारी हुने हकप्रदपछि चुक्तापुँजी वृद्धि भई ४६ करोड ८ लाख माथि पुग्ने बताइएको छ ।