काठमाण्डौ । अपराधको दुनियामा अचम्म लाग्ने घटनाहरु घटिरहेका हुन्छन् । यी मध्ये कयौँ घटना यस्ता हुन्छन् जसका बारेमा सुन्दा अपत्यारिलो र आम मानिसको कल्पनाभन्दा बाहिरको हुन्छन् ।

अपराधको बढ्दो सञ्जालसँगै आजभोलि बैंकिङ कसुर र जालझेलका घटना समेत वृद्धि भएका छन् । यस्तै एउटा घटना भारतको तमिलनाडु राज्यमा घटेको छ । 

भारतको तमिलनाडु राज्यमा तीन जना व्यक्ति मिलेर नक्कली एसबीआई बैंक खोलेको घटना सार्वजनिक भएको छ । तीन महिनादेखि नक्कली एसबीआई बैंकको शाखा खडा गरी ठगी धन्दा चलाएको भन्दै परुनति भन्ने ठाउँबाट तीन जना व्यक्ति पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा एसबीआई बैंकका एक पूर्व कर्मचारीको छोरा समेत संलग्न रहेको तमिलनाडु प्रहरीले जनाएको छ । 

यो अपराधिक योजनाको प्रमुख योजनाकार कमल बाबु नामक व्यक्ति थिए । कमलका आमा बुवा दुवै जना बैंकका कर्मचारी थिए । उनको बुवाको मृत्यु १० वर्षअघि नै भएको थियो भने आमा भने दुई वर्षअघि बैंकबाट अवकाश भएकी थिइन् । 

अपराधमा संलग्न अर्का व्यक्ति छापाखाना चलाउने गर्थे । तेस्रो व्यक्ति चाहिँ रबर स्ट्याप्प बनाउने काम गर्थे । छापाखाना सञ्चालन गर्ने व्यक्तिले बैंकको नक्कली कागजात बनाउने गर्दथ्यो । रबर स्ट्याप्म बनाउने व्यक्तिले नक्कली कागजातमा छाप लगाउने काम गर्दथ्यो। 

नक्कली बैंकका बारेमा तब शंका उत्पन्न भयो जब एक व्यक्तिले पनरुतिमा शाखा कार्यालय देखे र बैंकको असली एसबीआई शाखाको म्यानेजरलाई फोन गरे । नक्कली शाखाका बारेमा थाहा पाएपछि बैंकका क्षेत्रिय अधिकारी पनि अचम्मित बने र यसबारे बैंकको म्यानेजरलाई जानकारी दिइयो । 

पनरुतिमा बैंकको दुई वटा शाखा कार्यालय हुँदा हुदै पनि तीन जनाले त्यहाँ शाखा कार्यालय खोल्ने आँट गरेका थिए । प्रहरीका अनुसार नक्कली बैंकबाट कुनै पनि कारोबार भने भएको पाइएको छैन । 

-एजेन्सी