काठमाण्डौ । दुई वाणिज्य बैंक र एक विकास बैंकले आज पुस २५ गते वार्षिक साधारणसभा डाकेका छन्। एनएमबि बैंक, नेपाल एसबीआई बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आज वार्षिक साधारणसभा डाकेका हुन्। 

एनएमबि बैंकले आफ्नो २७ औँ वार्षिक साधारणसभा आज दिउँसो १ बजे काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्नेछ। सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँको ८.२५ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१.६४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। 

सोही सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्न वा मर्जरमा जाने प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ। मर्जरका लागि गर्नुपर्ने सम्पूर्ण कामकारबाही गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गर्नेछ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले गत पुस ११ गते बुक क्लोज गरेको थियो। यसको अर्थ पुस १० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

यसैगरी नेपाल एसबीआई बैंकले आफ्नो २९ औँ वार्षिक साधारणसभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना गर्नेछ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का प्रस्तावित हाल कायम चुक्तापुँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार ११३ रुपैयाँको कुल १०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। 

बोनस सेयर जारीपछि बैंकको जारी तथा चुक्तापुँजीमा परिवर्तन गर्नुपर्ने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने, गाभिने वा प्राप्ति गर्न आवश्यक सहमति र सम्झौता गर्नेलगायत बैंकका तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरुश्र गर्ने तथा गराउने अख्तियार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि बैंकले गत पुस १३ गते बुक क्लोज गरेको थियो। यसको अर्थ पुस १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १४ औँ वार्षिक रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्ष २०७८–७९ को वितरणयोग्य सञ्चित मुनाफाबाट नगद लाभांश र सेयर प्रिमियमसहित वितरणयोग्य सञ्चित मुनाफाबाट प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजी ३ अर्ब ७८ करोड १० लाख ९ हजार १४.२६ रुपैयाँको १३.३० प्रतिशतले हुन आउने ५० करोड २८ लाख ७४ हजार १९८.९० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशतले हुन आउने २ करोड ६४ लाख ६७ हजार ६३.१० रुपैयाँबराबरको नगद लाभांश छन्। 

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय पहिचान गर्ने, नेपाल राष्ट्र बैंकमा निवेदन दिने, डीडीए गर्न परामर्शदाता, मूल्यांकनकर्ता र लेखापरीक्षक नियुक्त गर्नेलगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकताअनुसार सोमा थपघट, परिमार्जन, स.शोधन तथा सचउनका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि छलफल गरी स्वीकृत गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि बैंकले गत पुस १२ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।