काठमाण्डौ । गत साता रुस र साउदी अरबले कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेका थिए। जसका कारण कच्चा तेलको मूल्य एकपटक फेरि बढेको छ। 

गत साताको अन्तिम कारोबार दिन पनि कच्चा तेलको भाउ ०.७३ डलर अर्थात ०.८१ प्रतिशतले बढेर प्रतिब्यारेल ९०.६५ डलरमा बन्द भएको छ। गत जुनदेखि कच्चा तुलको मूल्य करिब २५ प्रतिशतले बढेको छ। तेल उत्पादन कटौतीको निर्णय भाउ अझै बढ्न सक्ने संकेत गरेको छ। 

जुनमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७२ डलर थियो। जुन अहिले ९० डलर नाघेको छ। यसअघि नोभेम्बर २०२२ मा कच्चा तेलको मूल्य यो स्तरमा थियो। 

गत शुक्रबार बजार बन्द हुँदा ब्रेन्ट क्रुड आयल बढेर प्रतिब्यारल ९०.६५ डलरमा बन्द भएको थियो। वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) क्रुड आयल पनि ०.७४ प्रतिशत अर्थात ०.६४ डलर प्रतिब्यारेल बढेर ८७.५१ डलरमा बन्द भएको छ। –एजेन्सी