– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ३ दिन बजार घट्यो भने २ दिन बढेको छ। 

अघिल्लो साता २००४.३ अंकमा बन्द भएको बजार यो साता १९५६.३ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा ४७.३८ अंकको गिरावट आएको छ। अघिल्लो साता पनि बजारमा २५.४८ अंकको गिरावट आएको थियो। 

यो साता बजारमा ७ अर्ब ६ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता ७ अर्ब ३७ करोड रुपैयाँबराबरको थियो। यस हिसाबले यो साता बजारमा अघिल्लो साताको तुलनामा कारोबार र सूचक दुवैमा गिरावट आएको छ। 

बजार घट्दा यो साता बजार पुँजीकरण २९ खर्ब ८४ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो साता बजार पुँजीकरण ३० खर्ब ३८ अर्ब रुपैयाँ थियो। यो साता बजार घट्दा बजार पुँजीकरण ५४ अर्बले घटेको छ। 

प्राविधिक पक्ष 

क्यान्डल स्टिकका आधारमा 

यो साताको बजारलाई विभिन्न इन्डिकेटर तथा क्यान्डल स्टिकमार्फत हेर्दा बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ। तर, डेली बेसमा क्यान्डल स्टिकबाट हेर्दा साताभर बजारको न्यून विन्दु १९५४ र उच्च विन्दु २००५ मा रहेको देखिन्छ। साताभर बजारमा जम्मा करिब ० अंकको उतारचढाव भएको देखिन्छ। अर्थात् यो साता बजार १९५० भन्दा माथि–माथि टिकेर बन्द भएको छ। 

पछिल्लोपटक १९३० मा सपोर्ट लिएर करिब १०० अंकको बढोत्तरी आएपछि बजारले १९५० मा दुईपटक सपोर्ट लिएको छ। यसलाई डाउ थेउरीमार्फत हेर्दा पनि बजारले हायर लो बनाएको देखिन्छ। अर्थात्, बलियो सपोर्ट देखिन्छ। 

आगामी कारोबार यदि उक्त विन्दुबाट पनि तल जान्छ भने बजार केही समय सइडवेज चल्न सक्छ। त्यहाँबाट माथिको यात्रा लिएर यदि २००० भन्दा माथि–माथि टिकेर भोलुमसहित कारोबार हुन्छ भने बजारले फेरि माथिको यात्रा पनि तय गर्न सक्ने देखिन्छ। 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा 

यो साताको बजारलाई बोलिंगर ब्यान्डमार्फत साप्ताहिक रुपमा हेर्दा बजार मध्य ब्यान्डबाट तल खसेको छ। मध्य ब्यान्डबाट तल खसेको बजार तल्लो ब्यान्डसम्म आउन सक्छ। त्यो भनेको १८८० देखि १९०० को विन्दु हो। 

बजारलाई म्याक्डीमार्फत हेर्दा यसअघि नै बियरिस क्रसओर बनेको छ। हिस्टोग्राम पनि नेगेटिभ र लामा–लामा हुँदै गएका छन्। 

आरएसआईमार्फत हेर्दा हाल ४५ को तहमा रहेको बजारले पछिल्लो समय भने बुलिस डाइभर्जेन्स बनाएको छ। यो भनेको यदि बजार मूल्यरेखाहरु घट्दा आरएसआई माथि–माथिबाटै हायर लो बनाएर फर्किन्छ भने त्यसलाई बुलिस डाइभर्जेन्स भनेर बुझिन्छ। २०२२ को जुन महिनामा ओभर सोल्ड जोन २४ बाट खसेको बजार हाल त्यसपछिको १ वर्षयता हायर हाई र हायर लोका सिरिज बनाउँदै त्यहाँभन्दा माथि–माथिबाट फर्केको छ। यसले अब बजार घट्न रोकिएको मान्न सकिन्छ। 

इचिमोकुका आधारमा

इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए। प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्युज पेपरमा प्रकाशित भएको थियो। योसँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो। 

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ। यसअन्तर्गत बजारको पछिल्लो अवस्थालाई हेर्दा मूल्यरेखाहरु क्लाउड पोजिसनबाट तल झरेका छन्। क्लाउडको अवस्था पनि हरियोबाट रातो बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ। 

पिभट प्वइन्टका आधारमा 

पिभट प्वइन्ट निकाल्न सुरु, अधिकतम, न्यूनतम र अन्तिम ४ वटा मूल्य आवश्यक पर्छ। यी ४ वटा मूल्यलाई जोडेर निकालिएको औसत मूल्यलाई पिभट मूल्य अर्थात् विन्दु भनिन्छ। यसले बजारको प्रतिरोध र सपोर्ट खोज्न सहयोग गर्छ। 

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २०७३
  • प्रतिरोध २– २०५५
  • प्रतिरोध ३– २०२९

पिभट प्वइन्टः  २०११

घटेमा सपोर्ट 

  • सपोर्ट १– १९८६
  • सपोर्ट २– १९६८
  • सपोर्ट ३– १९४२

निष्कर्ष

अघिल्लो साता २५ अंकले घटेको बजार यो साता पनि ४७ अंकले घटेको छ। साताभर बजारमा ५० अंकले  उतारचढाव आएको देखिन्छ। विभिन्न इन्डिकेटरमार्फत नियाल्दा बजारमा केही बिक्री दबाब रहेको देखिन्छ। पिभटमार्फत हेर्दा पनि पिभट प्वइन्ट २०११ भन्दा तल–तल कारोबार रहुन्जेल बजारमा बिक्री दबाब नै रहेको देखिन्छ। साताभर नै बजार १९५० भन्दा माथि–माथि चलेका कारण यो विन्दुमा बलियो सपोर्ट लिएको देखिन्छ। अब बजारले तेस्रो सपोर्ट १९४२ मा लिन सक्छ। यदि त्यहाँबाट पनि तल जान्छ भने बजारले बोलिंगरको तल्लो ब्यान्ड १८८० देखि १९०० सम्ममा सपोर्ट लिन सक्छ। यो भनेको इन्ट्राडे करेक्सनमात्रै पनि हुन सक्छ। यस हिसाबले बजारमा अल्पकालमा केही करेक्सन हुन सक्छ भने दीर्घकालमा भने बजारमा करेक्सन सकिँदै गएको र केही महिना बजार साइडवज चलेर बुलिस यात्रा तय हुन सक्ने देखिन्छ। 

बजारलाई मुभिङ एभरेजमार्फत हेर्दा ५ दिने र २० दिने रेखाभन्दा तल–तल चलेको देखिन्छ। बजारले. यो साता १९८० मा कडा प्रतिरोध सामना गरेको बुझिन्छ। यसकारण आगामी दिनमा १९८० अर्थात् २००० भन्दा माथि–माथि टिकेर कारोबार भएको खण्डमा बजारले माथिको यात्रा लिन सक्नेछ। अन्यथा, बजार केही समय साइडवेज नै चल्न सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।