काठमाण्डौ । युक्रेनमाथि आक्रमणलाई लिएर पश्चिमा देशहरुले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा व्यापक वृद्धि हुने रुसले चेतावनी दिएको छ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य ३०० डलरसम्म पुग्न सक्ने रुसले चेतावनी दिएको हो। प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले बताएका छन्।
रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन अमेरिका र युरोपेली देशहरुले दिएको दबाब रुसी कम्पनीहरुले महसुस गर्न थालिसकेको नोभाकले बताए। रुस–युक्रेन द्वन्द्वका कारण ऊर्जाको बढ्दो मूल्यले विश्वभरि आर्थिक वृद्धि घटाउन सक्ने र महँगी बढाउन सक्ने चिन्ताबीच अन्तर्राष्ट्रिय सेयर बजारहरुमा गिरावट आएको छ।
साउदी अरबपछि रुस विश्वको सबैभन्दा दोस्रो ठूलो कच्चा तेल उत्पादक हो। रुस एक्लैले युरोपेली मागको एक तिहाइ तेल आपूर्ति गर्छ।
यसअघि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर सन् २००८ यताकै सबैभन्दा उच्च भएको थियो। एसियाली बजारमा कच्चा तेलको बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ बढेर १३९ डलर प्रतिब्यारल नाघेको थियो। तर, पछि १३० डलरभन्दा कममा आइपुग्यो। एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ।
रुसले युक्रेनमा आक्रमण गरेपछि आपूर्तिमा अवरोध सिर्जना हुने भयले इन्धन बजार प्रभावित भएको छ। पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढेकाले उपभोक्ता पनि प्रत्यक्ष प्रभावित भएका छन्।
साउदी अरबलाई तेल उत्पादन बढाउन आग्रह गर्न अमेरिकी राष्ट्रपति चाँडै रियाद भ्रमणमा जाने विषयमा अमेरिकी सरकारले विचार गरिरहेको खबर सार्वजनिक भएको छ। अमेरिकी समाचार संस्था एक्जिअसका अनुसार तेलबारे कुरा गर्न राष्ट्रपति जो बाइडनले वसन्तयाममा साउदी अरबको भ्रमण गर्न सक्छन्।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वभरि उत्पन्न ऊर्जा संकट समाधान गर्न अमेरिका प्रयासरत छ। अमेरिकी र भेनेजुएलाका अधिकारीहरुबीच पनि तेलमा लागेको प्रतिबन्ध खुकुलो बनाउने विषयमा कुरा भएको बताइएको छ।
अमेरिकाले हाल आयात गर्ने कच्चा तेल र पेट्रोलियम पदार्थमध्ये झन्डै १० प्रतिशत रुसबाट आयात हुन्छ। –बीबीसीबाट
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago