काठमाण्डौ । अबको दुई महिनाको अवधिमा तेल उत्पादक राष्ट्रहरुको संगठन ‘ओपेक’ ले कच्चा तेलको आपूर्ति बढाउने भएको छ।

पश्चिमा देशहरुको प्रतिबन्धका कारण रुसी तेलको उत्पादनमा कमी आउन थालेसँगै ओपेक तेलको आपूर्ति बढाउन सहमत भएको हो। ओपेकले जुलाईमा तेलको आपूर्ति प्रतिदिन ६ लाख ४८ हजार ब्यारेल र अगस्टमा २ लाख ब्यारेलले वृद्धि गर्ने जनाएको छ। जुन रुस सम्मिलित ओपेक प्लसजस्ता अन्य उत्पादकहरुसँग यसअघि भएका सहमतिहरुभन्दा धेरै हो। 

कच्चा तेलको आपूर्ति बढाउने ओपेकको निर्णयको अमेरिकी राष्ट्रपति बाइडेन प्रशासनले स्वागत गरेको छ।   

वाल स्ट्रिट जनरलका अनुसार यो साता कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० अमेरिकी डलरमाथि पुगेपछि ओपेकका केही सदस्यहरुले आउदी अरब र यूएईलाई तेलको सहज आपूर्तिका लागि अग्रसर गराउन ओपेक प्लससँगको सम्झौता रद्द गर्नेसम्मको योजना बनाएका थिए।  

यसअघि साउदी अरबले रुस र अन्य गैरओपेक उत्पादकहरुसँग सहमति भएको दीर्घकालीन कोटाभन्दा बढी उत्पादन वृद्धि गर्ने अमेरिकाको प्रस्ताव अस्वीकार गरेको थियो। तर, तेलको उच्च मूल्यवृद्धिका कारण विश्वमा उत्पन्न हुने मन्दीको सम्भावनाले यो निर्णयप्रति पुनर्विचार गर्न प्रेरित गरेको देखिन्छ। 

रोयटर्सका अनुसार पश्चिमा देशहरुको प्रतिबन्धका कारण बितेका केही महिनामा रुसको कच्चा तेलको उत्पादन प्रतिदिन १० लाख ब्यारेल घटेको छ। –एजेन्सी