काठमाण्डौ । तेल उत्पादन घटाउने ओपेक प्लस राष्ट्रहरुको निर्णयका बारेमा तीव्र आलोचना भएपछि साउदी अरबले आफ्नो धारणा सार्वजनिक गरेको छ। 

साउदी अरब एक विज्ञप्ति जारी गरेको गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो। विज्ञप्तिमार्फत साउदी अरबले रुसको पक्षमा रहेको र अमेरिकाविरुद्ध राजनीति गरेको आरोप अस्वीकार गरेको छ।

साउदी अरबको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ओपेक प्लसको निर्णयपछि साउदी अरबले अन्तर्राष्ट्रिय द्वन्द्वमा पक्ष लिइरहेको छ र अमेरिकाविरुद्ध राजनीतिक रुपमा प्रेरित भएको धारणाहरु सार्वजनिक भएका छन्। हामी ती धारणाहरु तथ्यहीन छन् र हामी त्यस्ता धारणाहरुलाई अस्वीकार गर्छौं।

तेल कटौती गर्ने निर्णय ओपेक प्लस समूहका सबै सदस्य राष्ट्रहरुले सर्वसम्मतिले लिएको साउदीले स्पष्ट पारेको छ। ‘यो निर्णय कुनै एक देशको होइन। यस्ता निर्णय आर्थिक आधारमा लिइन्छ ता कि तेल बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम होस्’, विज्ञप्तिमा भनिएको छ। 

साउदी सरकारले अमेरिकी प्रशासनसँग चलिरहेको कुराकानीमा ओपेक प्लसको निर्णयलाई एक महिनापछि सार्दा नकारात्मक आर्थिक नतिजा आउने स्पष्ट गरेको पनि विज्ञप्तिमा जनाइएको छ। ‘यो निर्णय स्थगित गर्न सुझाव दिइएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘युक्रेन संकटको सन्दर्भमा साउदी अरबको स्थितिका बारेमा तथ्यहरू तोडमोड गर्नु दुर्भाग्यपूर्ण छ र यसले साउदी अरबको स्थितिलाई परिवर्तन गर्दैन। यसमा रुस–युक्रेन द्वन्द्वमा संयुक्त राष्ट्रसंघको प्रस्तावको समर्थनमा मतदान समावेश छ।’

साउदी अरबले देशहरुको सार्वभौम क्षेत्रहरुमा कुनै पनि आक्रमण अस्वीकार गर्ने पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ। ‘साउदी अरब आफ्ना मित्र राष्ट्रहरुसँग बलियो सम्बन्धको वकालत गर्ने बेलामा, यसले कुनै पनि आदेश, कार्य र विश्वव्यापी अर्थतन्त्रको सुरक्षाको राम्रो कारणलाई तोडमोड गर्ने प्रयासहरूलाई अस्वीकार गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।

गत अक्टोबर ५ मा ओपेक प्लसले तेल उत्पादन प्रतिदिन २० लाख ब्यारेलले कटौती गर्ने घोषणा गरेको थियो। अमेरिकाले पहिले जस्तै तेल उत्पादन जारी राख्न धेरै प्रयास गरे पनि साउदी अरबलगायत ओपेक प्लस देशहरुले उत्पादन घटाउने निर्णय गरे।

ओपेक प्लसको निर्णयपछि अमेरिकी राष्ट्रपति जो बिडेनले साउदी अरबलाई चेतावनी दिए कि तेल उत्पादन कटौती गर्ने ओपेक प्लसको निर्णयले ‘गम्भीर परिणाम’ निम्त्याउनेछ।

अमेरिकाले ओपेक प्लसलाई रुसको पक्षमा रहेको आरोप लगाएको छ। ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारिन–जीन–पियरेले मंगलबार भने, ‘यो स्पष्ट छ कि ओपेक प्लस रुसको पक्षमा छ। यसले अमेरिका–साउदी सम्बन्धमा कस्तो असर पार्न सक्छ।’ –एजेन्सी