काठमाण्डौ । युरोपेली संघ (ईयू)का विदेश नीति प्रमुख जोसेफ बोरेलले पेट्रोलिम पदार्थको विषयलाई लिएर भारतमाथि कारबाही गर्नुपर्ने बताएका छन्।
फाइनान्सियल टाइम्समा प्रकाशित अन्तर्वार्तामा प्रमुख बोरेलले रुसबाट कच्चा तेल किनेर बजारमा रिफाइन्ड गरी बिक्री गरिरहेकोले भारतमाथि ईयूले कारबाही गर्नुपर्ने धारणा राखेका हुन्।
रुस–युक्रेन युद्ध सुरु भएयता भारतले पछिल्लो १ वर्षमा रुसबाट सबैभन्दा बढी तेल खरिद गरेको छ। भारतमा रहेका रिफाइनरीहरुले सस्तो कच्चा तेल पाएर धेरै फाइदा उठाएका छन्। भारतले युरोपमा रिफाइन्ड उत्पादनहरु बेचेर धेरै पैसा कमाइरहेको छ।
बोरेलले भनेका छन्, ‘यदि भारतबाट युरोपमा आउने डिजेल वा पेट्रोल रुसी तेलबाट बनेको हो भने त्यो सदस्य राष्ट्रका लागि चिन्ताको विषय हो र त्यसविरुद्ध कदम चाल्नुपर्छ।’
‘भारतले रुसबाट तेल लिनु सामान्य कुरा हो तर रुसको तेल प्रशोधन गर्ने केन्द्र बन्दै र उत्पादित सामान हामीलाई बेच्ने हो भने हामीले कठोर कदम चाल्नुपर्छ’, बोरेलले भनेका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार युरोपेली आयोगका उपाध्यक्ष मार्गरेट भेस्टेगरले ईयूले यसबारे भारतसँग कुरा गर्ने बताएका छन्।
यसअघि ढुवानी खर्च निकै महँगो भएकाले भारतीय रिफाइनरीहरुले रुसबाट कम तेल लिने गर्दथे। तर, आर्थिक वर्ष २०२२–२३ मा दैनिक ९ लाख ७० हजारदेखि ९ लाख ८१ हजार ब्यारेल तेल आयात भएको थियो। यो देशको कुल आयातको ५ भाग हो।
रुसको सबैभन्दा ठूलो तेल उत्पादक रोसनेफ्ट (आरओएसएन.एमएम) र शीर्ष भारतीय रिफाइनर इन्डियन आयल कर्पोरेसन (आईओसी.एनएस) ले पनि भारतलाई आपूर्ति गरिने तेलको ग्रेडलाई उल्लेखनीय रुपमा वृद्धि गर्न र विविधीकरण गर्न एक अवधि सम्झौतामा हस्ताक्षर गरेका छन्।
केप्लरको जहाज ट्रयाकिङ डेटाअनुसार रिलायन्स इन्डस्ट्रिज र नायरा इनर्जी रिफाइन्ड इन्धनको प्रमुख निर्यातकर्ता र रुसी तेलको खरिदकर्ता थिए। रोयटर्सका अनुसार ती कम्पनीबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।
केप्लरका अनुसार रुसले युक्रेनमा आक्रमण गर्नुअघि भारतले सामान्यतया दैनिक औसत १ लाख ५४ हजार ब्यारेल (बीपीडी) डिजेल र जेट इन्धन युरोपमा निर्यात गर्दथ्यो। यस वर्षको फेब्रुअरी ५ देखि ईयूले रुसी तेल उत्पादनमा प्रतिबन्ध लगाएपछि यो प्रतिदिन २ लाख बैरल पुगेको छ।
बोरेलले रुसी तेलको प्रवाहलाई रोक्नका लागि कुनै पनि संयन्त्रलाई राष्ट्रिय अधिकारीहरुले लागू गर्न आवश्यक रहेको बताएका छन्। उनले ईयूले खरिदकर्तालाई लक्षित गर्न सक्ने संकेत पनि गरेका छन्। ‘उनीहरु बेचिरहेका छन् भने यसको अर्थ कसैले किनिरहेको छ। हामीले कसले किनेको हेर्नुपर्छ’, उनले भनेका छन्।
बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा भारतका विदेशमन्त्री एस जयशंकरले युरोपियन युनियनको प्रतिबन्धको नियमअनुसार तेस्रो मुलुकमा कच्चा पदार्थका रुप परिवर्तन भएको कुरालाई रुसी सामान भन्न नमिल्ने भारतको बुझाइ रहेको बताएका छन्। ‘युरोपियन युनियन काउन्सिलको नियमहरु हेर्नुहोस्, तेस्रो देशमा पर्याप्त रुपमा डाइभर्ट गरिएको रुसी कच्चा तेल त्यहाँ उत्पत्ति भएको मानिने छैन’, उनले भने, ‘म तपाइँलाई काउन्सिल नियमन ८३३/२०१४ हेर्न आग्रह गर्दछु।’
यसअघि पनि जयशंकरले रुसबाट भारतको आयातको बचाउ गरेका थिए।
तेलविज्ञ नरेन्द्र तनेजा युरोपेली मुलुकसँग भारतको रणनीतिक सम्बन्ध रहेको अवस्थामा यस्तो अभिव्यक्ति आउनु निन्दनीय रहेको बताउँछन्। ‘यदि आफ्नो देशका जनतालाई खुसी पार्न यो राजनीतिक बयान आएको हो भने ठिकै छ’, उनले भने, ‘तर, यदि उनीहरुले कुनै किसिमको प्रतिबन्ध लगाउनेबारेमा सोचिरहेका छन् भने उनीहरु चीन, टर्कीलगायत कम्तीमा १५ देशमा प्रतिबन्ध लगाउनुपर्नेछ। यदि यस्तो भयो भने पहिलेदेखि तेलको मूल्यमा आएको उछालसँग जुझिरहेका अमेरिका र युरोपियन अर्थ व्यवस्थाका लागि खतरनाक हुन सक्छ।’
‘भारत र चीनले रुसबाट तेल किनिरहेका छन्, त्यसैले विश्व बजारमा तेलको अभाव छैन’, तेजविज्ञ तनेजाले भने, ‘यो प्रणालीमा हस्तक्षेप भयो भने हलचल मच्चिन सक्छ।’ –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago