– मनिष सोती

काठमाण्डौ । सञ्चालनमा रहेका २८ बीमा कम्पनीमध्ये ७ कम्पनीले मात्रै नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याएका छन्। 

प्राधिकरणले गत चैत १० गतेसम्म जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो। तर, बीमा कम्पनीहरुले तोकिएको अवधि अपुग भएको भन्दै पुँजी जुटाउन थप अवधि माग गरेकोमा प्राधिकरणले ३ महिनाको समय थप गरी असार मसान्तसम्म चुक्तापुँजी पुर्याउन ‘डेडलाइन’ तोकेको थियो। 

प्राधिकरणका अनुसार असार मसान्तसम्म जम्मा ७ कम्पनीले मात्रै न्यूनतम चुक्तापुँजी पुर्याएका छन्। निर्धारित समयभित्र तीन जीवन बीमा कम्पनी र चार निर्जीवन बीमा कम्पनीले मात्रै तोकिएको पुँजी पुर्याएका हुन्। 

जीवन बीमातर्फ नेपाल लाइफ, नेसनल लाइफ र हिमालयन लाइफ इन्स्योरेन्सले मात्रै प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याएका छन्। नेपाल र नेसनल लाइफको चुक्तापुँजी यसअघि नै पुगिसकेको थियो भने हिमालयन लाइफको साबिक युनियन, प्राइम र गुराँस लाइफ आपसमा मर्ज भएपछि पुँजी पुगेको हो। 

हाल नेपाल लाइफको कायम चुक्तापुँजी सर्वाधिक ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको छ। मर्जपछि हिमालयन लाइफ पनि दोस्रो ठूलो जीवन बीमा कम्पनी बन्न सफल भएको छ। हिमालयन लाइफको हाल चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख रुपैयाँ पुगेको छ। नेशलन लाइफको चुक्तापुँजी भने ५ अर्ब १ करोड १६ लाख रुपैयाँ रहेको छ। 

अधिकांश जीवन बीमा कम्पनीले ५ अर्ब चुक्तापुँजी जुटाउन सकेका छैनन्। मर्जरमा सामेल भएका केही जीवन बीमा कम्पनीले समेत तोकिएको पुँजी पुर्याउन सकेका छैनन्। 

यसैगरी रिलायबल लाइफ, आइएमई लाइफ, सिटिजन लाइफ र सन नेपाल लाइफले प्रिमियममा आईपीओ जारी गरे पनि प्राधिकरणले तोकेको पुँजी पुर्याउन सकस पर्ने देखिन्छ। असार मसान्तअघि आइएमई लाइफ र रिलायबल नेपाल लाइफको चुक्तापुँजी २ अर्ब ८० करोड, सन नेपाल लाइफको २ अर्ब २४ करोड र सिटिजन लाइफको २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। 

प्रिमियममा आईपीओ बिक्रीपछि पनि आइएमई लाइफ र रिलायबल नेपाल लाइफको चुक्तापुँजी ४ अर्ब, सिटिजन लाइफको ३ अर्ब ७५ करोड, सन नेपालको ३ अर्ब २० करोड रुपैयाँमात्रै  पुग्नेछ। 

उता एलआईसी नेपालले पनि बीमा प्राधिकरणबाट हकप्रद सेयर निष्कासनको अनुमति पाइसकेको छ। एलआईसी नेपालले अंकित मूल्य १०० रुपैयाँ दरका २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासनपश्चात् कम्पनीको पुँजी ठ्याक्कै ५ अर्ब पुग्नेछ। तर, असार मसान्तअघि कम्पनीको पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ। 

निर्जीवन बीमा कम्पनीमा पनि चारवटाले मात्रै प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याएका छन्। असार मसान्तसम्म आईजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, शिखर र सगरमाथा लुम्बिनी इस्योरेन्सले मात्रै साढे २ अर्बभन्दा बढी चुक्तापुँजी पुर्याएका छन्। 

सबैभन्दा बढी चुक्तापुँजी पुर्याउने कम्पनीमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ। साबिक आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स आपसमा गाभिएपछि बनेको कम्पनी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापुँजी ३ अर्ब २ करोड रुपैयाँमाथि रहेको छ। 

त्यस्तै सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड, शिखरको २ अर्ब ६५ करोड र सगरमाथा लुम्बिनीको २ अर्ब ६२ करोड पुगेको छ। 

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीलाई प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउन सबैभन्दा बढी कसरत गर्नुपर्ने देखिएको छ। कम्पनीले साढे २ अर्ब चुक्तापुँजी पुर्याउन अझै २ अर्ब ४९ करोड ७३ लाख ३३ हजार ६१० रुपैयाँ थप्नुपर्नेछ। 

कतिपय कम्पनीले प्रिमियम थप गरी आईपीओ निष्कासन तथा राइट सेयर जारी गरेर पुँजी वृद्धि गर्दैछन्। बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तापुँजी पुर्याउन निर्देशन दिएसँगै बीमा कम्पनीहरुले मर्जरको बाटो रोजेका थिए। तर, मर्जरमा गए पनि दुई जीवन बीमा कम्पनी (सूर्यज्योति र सानिमा रिलायन्स) र तीन निर्जीवन बीमा कम्पनी (हिमालयन एभरेस्ट, सानिमा जीआईसी र युनाइटेड अजोड)ले भने पुँजी पुर्याउन सकेनन्। 

प्राधिकरण स्रोतका अनुसार मर्जर वा प्रिमियममा आईपीओ जारी गरी पुँजी बढाएका कम्पनीहरुलाई भने कारबाही नहुने भएको छ। यसका साथै विदेशी कम्पनीको शाखाका रुपमा सञ्चाालित मेट लाइफ, दि ओरियन्टल र नेसनल इन्स्योरेन्स कम्पनीलाई पनि पुँजी वृद्धिको विषयमा कुनै पनि कारबाही नहुने स्रोतले बतायो। 

न्यूनतम चुक्तापुँजी पुर्याउन प्रयास गर्ने कम्पनीलाई कारबाही नहुने

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलका अनुसार मर्जरमा जाने कम्पनी र प्रिमियममा आईपीओ जारी गर्ने कम्पनीलाई कारबाही हुने छैन। ‘चुक्तापुँजी पुर्याउन प्रयास गर्ने कम्पनीलाई कारबाही गर्दैनौँ’, उनले भने, ‘कम्पनीहरुको गत आर्थिक वर्ष २०७९–८० को ब्यालेन्स सिट हेरेर कति मुनाफा आर्जन गरेको सोही आधारमा बोनस सेयर वा हकप्रद सेयर जारी गर्न दिनेछौँ।’ 

यस विषयमा प्राधिकरणको बोर्ड बैठक नबसेकाले कम्पनीहरुको चुक्तापुँजी विषयमा गत आर्थिक वर्षको वित्तीय विवरण हेरेर हकप्रद वा बोनस सेयर जारी गर्ने प्रस्ताव लैजाने पौडेलले बताए। ‘निर्जीवनतर्फ प्रभु र नेपाल इन्स्योरेन्स कम्पनीको मात्रै पुँजी नपुग्ने देखिएको छ’, उनले भने, ‘तर, नेपाल इन्स्योरेन्सले आफ्ना स्वामित्वमा रहेका जग्गाहरु बिक्री गरेर पुँजी पुर्याउने बताएको छ।’ 

त्यस्तै प्रभु इन्स्योरेन्सले पनि वैदेशिक लगानी भित्र्याई चुक्तापुँजी वृद्धि गर्ने तयारीमा रहेको पौडेलले जानकारी दिए। 

यसका साथै हकप्रद सेयर जारी गर्ने तयारीमा रहेका एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्सलाई पनि कारबाही नहुने भएको छ। एनएलजीले कायम चुक्तापुँजीको ६६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साउन १५ गते बस्ने विशेष साधारण सभाबाट पारित गर्नेछ। हकप्रदमार्फत पुँजी बढाउने कम्पनीको प्रस्ताव स्वीकृत गर्ने प्राधिकरण स्रोतले बतायो। एनएलजीले प्रतिशत हकप्रद जारी गरेमा कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ। 

त्यस्तै एलआईसी नेपालले पनि कायम चुक्तापुँजीको ८८.४५१६ प्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्ने तयारीमा रहेको छ। कम्पनीलाई बीमा प्राधिकरणले २०७९ पुस २१ गते सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ। कम्पनीले २ अर्ब ३३ करोड ४८ लाख रुपैयाँबराबरको हकप्रद जारीपश्चात चुक्तापुँजी ४ अर्ब ९८ करोड ८३ लाख रुपैयाँ पुग्नेछ।