– मनिष सोती

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो नामको सम्पत्ति बिक्रीमार्फत पुँजी जुटाउन लागिपरेको छ। 

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएबमोजिम कम्पनीले सम्पत्ति बिक्री गरी पुँजी जुटाउन लागेको हो। कम्पनीले आफ्नो स्वामित्वमा रहेका ४ स्थानको घर–जग्गा बिक्री गरी कुल ३३ करोड १२ लाख २२ हजार रुपैयाँ पुँजी जुटाउन प्रयास गरेको छ। 

कम्पनीले काठमाण्डौको न्युरोडस्थित रहेको ५ तले पक्की घर–जग्गा १० करोड ५७ लाख रुपैयाँ, मोरङको विराटनगर–११ रहेको ५ कट्ठा ४ धुर जग्गा रु. ९ करोड ९७ लाख रुपैयाँ, पर्साको वीरगन्ज–१४ मा रहेको जग्गा तथा सो जग्गामा बनेको ३ तले पक्की घर र ट्रस्टको घर १० करोड ७९ लाख ७६ हजार रुपैयाँ र चितवनको भरतपुर–५ मा रहेको ३ कठ्ठा १७ धुर जग्गा रु. ११ करोड २९ लाख ७० हजार रुपैयाँमा बिक्री गर्नका लागि सिलबन्दी बोलपत्रसम्बन्धी सूचना जारी गरेको छ। 

कम्पनीका अनुसार इच्छुक व्यक्ति तथा संघसंस्थाले भदौ १८ गते सोमबारभित्र कम्पनीको प्रधान कार्यालयलगायत सम्बन्धित प्रदेश तथा शाखा कार्यालयमा बोलपत्र पेस गर्न सक्नेछन्। 

कम्पनीले यसअघि पनि सम्पत्ति बिक्रीमार्फत पुँजी पुर्याउने भन्दै बीमा प्राधिकरणसमक्ष प्रस्ताव पेस गरेको थियो। तर, तोकिएको समयभित्र सम्पत्ति बिक्री नहुँदा कम्पनीले पुनः सम्पत्ति लिलाम गर्ने बताउँदै प्राधिकरणसमक्ष पुनः निवेदन पेस गरेको प्राधिकरणले जनाएको छ। 

दोस्रोपटक सूचना जारी गरी सम्पूर्ण सम्पत्ति लिलाम भए पनि कम्पनीको न्यूनतम चुक्तापुँजी १ अर्ब ७१ करोड रुपैयाँमात्रै पुग्ने देखिन्छ। कम्पनीलाई तोकिएको पुँजी पुर्याउन अझै ७८ करोड ९९ लाख रुपैयाँ खाँचो पर्ने देखिन्छ। यदि सम्पूर्ण सम्पत्ति बिक्री भएको खण्डमा कम्पनीको ३३ करोड १२ लाख २२ हजार रुपैयाँ पुँजी थप हुन आउनेछ। 

यता बीमा प्राधिकरणले पुँजी जुटाउन प्रयास गर्ने कम्पनीलाई अपुग पुँजी रकमबराबरको हकप्रद निष्कासनको बाटो खुलाइदिएको छ। तर, नेपाल इन्स्योरेन्सले भने सम्पत्ति लिलाममार्फत नै पुँजी पुर्याउने जनाएको छ। ‘नेपाल इन्स्योरेन्स ७७ वर्ष पुरानो कम्पनी कम्पनी हो। कम्पनीसँग प्रशस्त सम्पत्ति छन्। पुँजी वृद्धिका लागि अन्य बाटो रोज्नुपर्ने आवश्यक देखिँदैन’, कम्पनीका नायब प्रमुख कार्यकारी ईश्वर पोखरेलले भने, ‘पुँजी वृद्धिको विषयमा सञ्चालक समितिले निर्णय गर्ने हो, समितिका अनुसार हाललाई ४ स्थानको जग्गा बिक्री गरी अपुग भएको खण्डमा पुनः अन्य विकल्प रोज्नेछ।’ 

पोखरेलले थपे, ‘कम्पनीसँग साढे २ अर्ब पुँजी पुर्याउन सम्पत्ति बिक्रीको क्षमता छ तर सञ्चालन समितिको बैठकमा हकप्रदमार्फत पनि पुँजी बढाउने कुरा भइरहेको छ।’

हाल नेपाल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ रहेको छ। सम्पत्ति बिक्री भएको खण्डमा कम्पनीको पुँजी १ अर्ब ७१ करोड १ लाख रुपैयाँ पुग्नेछ। कम्पनीलाई अझैपनि करिब ७९ करोड अपुग देखिन्छ। 

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने कम्पनीले सम्पत्तिमार्फत नै पुँजी वृद्धिको प्रस्ताव गरेको बताए। ‘कम्पनीले विभिन्न स्थानको घर–जग्गा बिक्रीमार्फत पुँजी जुटाउन लागेको छ, यसमा प्राधिकरणको समर्थन रहेको छ’, पौडेलले भने, ‘नेपाल इन्स्योरेन्सले ढिलै भए पनि पुँजी जुटाउने प्रयास गरेकाले तत्कालै कारबाही गर्ने प्रक्रिया बढेको छैन।’

नेपाल इन्स्योरेन्सले अझै अपुग भएको पुँजी जुटाउनका लागि नेपाल पुनर्बीमा कम्पनीमा रहेको २० लाख कित्ता सेयर र कुमारी बैंकमा रहेको सेयर बिक्री गर्ने योजना रहेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए।