काठमाण्डौ। बीमा समितिको बिहीबार बसेको बैठकले बीमा कम्पनीहरुको पुँजी बढाउने गर्ने निर्णय गरेको छ। 

बैठकले जीवन बीमा कम्पनीहरुका लागि न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुका लागि साढे २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको छ। तोकिएको चुक्तापुँजी पुर्याउन बीमा समितिले कम्पनीहरुलाई एक वर्षको समयावधि दिएको छ। यसका साथै एक महिनाभित्र पुँजी वृद्धिको योजना पेस गर्न कम्पनीहरुलाई समितिले निर्देशन पनि दिएको छ। 

यसअघि जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब रुपैयाँ र जीवन बीमा कम्पनीहरुको १ अर्ब रुपैयाँ रहेको थियो। 

समितिले तोकेको न्यूनतम चुक्तापुँजी जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफको मात्र पर्याप्त देखिन्छ। यो कम्पनीको हालको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ बढी रहेको छ। 

यसैगरी नेसनल लाइफको चुक्तापुँजी ४ अर्ब ३ करोड रुपैयाँ बढी रहेको छ। अघिल्लो आर्थिक वर्ष २०७६÷७७ का लागि कम्पनीले १९ प्रतिशत बोनस सेयर वितरण गरेको छ। गत आर्थिक वर्ष २०७७÷७८ का लागि लाभांश घोषणा गर्न बाँकी छ। यो हिसाबले नेसनल लाइफको पनि तोकिएको पुँजी पुग्न सक्ने देखिन्छ। 

अन्य बाँकी सबै जीवन कम्पनीहरुले पुँजी बढाउनुपर्ने देखिन्छ। यी कम्पनीहरुले हकप्रद निष्कासन वा मर्जरमा जानुको विकल्प छैन। 

जीवन बीमा कम्पनीमध्ये १० वटा कम्पनीको हालको चुक्तापुँजी २ अर्बदेखि ३ अर्ब रुपैयाँमुनि रहेको छ भने ५ वटा कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँमुनि रहेको छ। यी कम्पनीहरुमध्ये केहीले सतप्रतिशत र केहीले सतप्रतिशतभन्दा बढी हकप्रद निष्कासन गरी पुँजी वृद्धि गर्नुपर्ने देखिन्छ। 

आईपीओ निष्कासन गर्न बाँकी रहेका सिटिजन लाइफ, सन नेपाल लाइफ, महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ र आइएमई लाइफको चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँमात्रै रहेको छ। यी कम्पनीले २५७ प्रतिशतको हाराहारीमा पुँजी वृद्धि गर्नुपर्ने देखिन्छ। 

उता निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्सको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्न सक्ने देखिन्छ। 

कम्पनीले अहिले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गरिरहेको छ। हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ। 

यसैगरी कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गर्न बाँकी छ। लाभांश घोषणापछि कम्पनी न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ। 

आइएमई जनरलले पनि अहिले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरिरहेको छ। हकप्रद सेयर बिक्री र गत आर्थिक वर्षको ७ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ। यो हिसाबले कम्पनीले अझै ४०  प्रतिशत बढी हकप्रद सेयर निष्कासन गर्नुपर्ने देखिन्छ।

नेको इन्स्योरेन्सको गत आर्थिक वर्षको १५ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्तापुँजी १ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। यो कम्पनीले न्यूनतम चुक्तापुँजी पुर्याउन ४५ प्रतिशतसम्म हकप्रद निष्कासन गर्नुपर्ने देखिन्छ। 

अन्य सबै निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँभन्दा मुनि रहेको छ। केही निर्जीवन बीमा कम्पनीले १०० प्रतिशत हकप्रद निष्कासन गर्दा पनि तोकिएको न्यूनतम चुक्तापुँजी नपुग्ने देखिन्छ। 

हाल कायम चुक्तापुँजीका आधारमा राष्ट्रिय बीमा कम्पनीले पुँजी कसरी बढाउला भन्ने निकै चासोको विषयमा बनेको छ। यो कम्पनीको चुक्तापुँजी २६ करोड ६६ लाख रुपैयाँमात्र रहेको छ। यो हिसाबले कम्पनीले साढे ८०० प्रतिशतको हाराहारीमा पुँजीवृद्धि गर्नुपर्ने देखिन्छ। 

बीमा समितिले निर्धारण गरेको न्यूनतम चुक्तापुँजी पुर्याउन अधिकांश बीमा कम्पनीले हकप्रद निष्कासन गर्नुपर्ने देखिन्छ। केही कम्पनीले बाध्य भएर अन्य कम्पनीसँग मर्जरमा जानुपर्ने अवस्था पनि सिर्जना हुने देखिन्छ। 

बीमा क्षेत्रका जानकारहरु बीमा समितिको निर्धारण गरेको न्यूनतम चुक्तापुँजीको मापदण्ड पुर्याउन धेरै कम्पनीहरुलाई हम्मेहम्मे पर्ने बताउँछन्। ‘केही कम्पनीले चुक्तापुँजीको दोब्बर बढीले हकप्रद जारी गर्दामात्रै तोकिएको चुक्तापुँजी पुग्ने देखिन्छ’, एक जानकारले भने, ‘यस्तो अवस्थामा मर्जरमा जानुको विकल्प हुँदैन।’

हाल जीवन र निर्जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी ६५ अर्ब रुपैयाँको हाराहारी रहेको छ। अब कम्पनीहरुले थप ६५ अर्ब रुपैयाँ बढी पुँजी जुटाउनुपर्ने देखिन्छ।

अर्थशास्त्री डा मीनबहादुर पौडेल क्षेत्री बीमा कम्पनीहरुको पुँजी वृद्धि निर्णय सकारात्मक रहेको बताउँछन्। ‘एकैदिन २० अर्बको कारोबार भएको नेपालको सेयर बजारको इतिहासमा कम्पनीहरुले १ वर्षभित्रमा ६५ अर्ब रुपैयाँ जुटाउन सामान्य नै हुनेछ’, उनले भने, ‘अहिले तरलताको अवस्थामा यो निर्णय गलत हो भन्ने पनि सुनेको छु। तर, विस्तार तरलता सहज हुँदै जाने र चुनावी महौलसँगै बजारमा पैसा आउन थाल्ने भएकोले बीमा कम्पनीहरुको पुँजी वृद्धिको निर्णय गलत समयमा आयो भन्ने उपयुक्त हुँदैन।’